काठमाडौ, १६ फाल्गुन – तिनकुनेबाट निस्केको जुलुस बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अगाडि बढ्न खाेजेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा दुवै पक्षलाई चोट पटक लागेको छ । प्रहरीले कयौं राउण्ड अश्रृ ग्यास प्रहार गरेको छ । भागाभाग हुँदा जुलुश बिथाेलिएकाे छ । त्यहाँ धेरै संख्यामा जुलुसमा सहभागी घाइते भएका छन् ।
एमाओवादी नेता नरायणकाजी श्रेष्ठको नेतृत्वमा निस्केको जुलुसलाई प्रहरीले ट्रलीबसको कार्यालय अगाडि रोकेर सिधा जान रोकेपछि तनाव सुरु भएको हो । ठूलो संख्यामा रहेको जुलुसको दवाब खेप्न नसकेर प्रहरीले अरनिको राजमार्गको बायाँपट्टकिो लेनबाट अगाडि बढ्न अनुमति दिएकोमा जुलुस सडकको ठूलो हिस्सा ओगटेर बबरमहल तर्फ बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । जिल्ला प्रशासनले ट्रलीबसको कार्यालय बाट बानेश्वर चोक हुँदै एभरेष्ट होटल पट्टि ७५ मिटरसम्म निषेधित क्षेत्र घोषित गरेको थियो ।
अपडेटः खुलामञ्चमा जुलुसहरु पुग्न केही ढिलाई भएकाले कार्यक्रम तोकिएको समय १ बजे सुरु हुन सकेको छैन ।
अपडेटः कमलादीबाट निस्केको जुलुसलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेका छन् । दाहाललाई कार्यकर्ता र प्रहरीले सुरक्षा दिएको छ । त्यस्तै कलंकीबाट नेता बाबुराम भट्टराई नेतृत्वको जुलुस खुलामञ्च पुग्दैछ । बबरमहलबाट मधेसी दलले जुलुस निकालेको छ ।







