युट्युब मुख्यालयमा गोली चल्दा संदिग्ध महिलाको मृत्यु

अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा तीनजनालाई घाइते बनाउने गरी गोली हान्ने सन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

ती महिलाले अन्यलाई हमला गरेपछि आफैँमाथि पनि गोली हानेकी थिइन् ।

प्रहरीका अनुसार गोली चल्दा घाइते भएका सबैलाई अस्पतालमा लगिएको थियो ।

उक्त घटनामा घाइते भएका एक ३६ वर्षीय युवकको अवस्था गम्भीर छ। ती युवक सन्दिग्ध महिलाका केटासाथी हुन् ।

हमलामा ३२ र २७ वर्षका दुई महिलालाई पनि गोली लागेको थियो ।

गोली लाग्ने ३२ वर्षकी महिलाको अवस्था नाजुक रहेको र २७ वर्षीया महिलाको भने अवस्थामा सुधार आएको बताइएको छ ।

उक्त घटना युट्यूबको सान ब्रुनोस्थित मुख्यालयमा भएको थियो र प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको छ ।

युट्युब मुख्यालयमा एक बन्धुकधारी भएको खबर आउने वित्तिकै आफूहरू त्यता गएको प्रहरीले जनाएको छ ।

युट्युब मुख्यालयमा करिब १७ सय मानिसहरू कार्यरत छन् ।

स्थानीय टेलिभिजनहरूले देखाएका तस्बिरमा कर्मचारीहरू हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किएका थिए ।