दाहाल सर्वसम्मत भए माओवादी संसदीय दलको नेता

काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन् ।

आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । प्रतिनिधिसभा प्रत्यक्षतर्फ चितवन–३ बाट निर्वाचित सांसद् समेत रहेका प्रचण्डले बैठकमा एमालेसँगको पार्टी एकता, सरकार गठन लगायतका विषयमा ब्रिफिङ गरेका थिए।

एमालेसँगको एकताबारे आइतबार शीर्ष नेताबीच छलफल हुने र भ्याएमा एकता संयोजन समिति बैठक बस्ने जानकारी दाहालले बैठकमा राखेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । माओवादीले पार्टी एकता, सरकार गठनलगायत विषयमा प्याकेजमा सहमति हुनुपर्ने माग गर्दै आएको छ।