‘सडकमा गएर संविधान लेखिदैंन’

उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले संसारका कुनै पनि देशमा सडकबाट संविधान नलेखिएकाले सहमतिबाटै संविधान निर्माणमा सघाउन विपक्षी दलहरुलाई आग्रह गरेका छन् । कालीकोटको सदरमुकाम मान्मामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीले गरेका प्रयासहरु सकरात्मक रहेकाले यसलाई कमजोर नठान्न पनि विपक्षी दलहरुलाई सुझाए ।
जसले अमर्यादित र अशोभनिय कार्य गर्‍यो उसकै कारण संविधान निर्माणका लागी प्रक्रियाको बाटो अपनाएको पनि उनले बताए । जनगुनासो सुन्न र अठारौं जिल्ला परिषदको उदघाटन गर्न सडकमार्ग हुँदै कालिकोट पुगेका सिहंले कर्णालीका युवालाई स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्न सरकारले पहल थाल्ने आश्वासन दिए ।
सरकारी कार्यलय प्रमुखहरुसँगको भेटमा प्रमुखहरुले कर्मचारी दरबन्दी कम भएकाले कार्य गर्न नसकेको दुखेसो पोखेका थिए । मान्माबासीले सदरमुकाम महिनौं देखि अन्धकार रहेको सुनाएपछि अवरुद्ध स्थानीय लघुजलविद्युत योजनालाई तत्काल काम थाल्न निर्देशन दिएका थिए । सिहंले कांग्रेस कार्यकर्ताहरुसँग पनि भेटघाट गरेका थिए । उनी आजै सुर्खेत जाने कार्यक्रम छ ।