निर्वाचन आयोगले माग्यो प्रतिवेदन र कानुन

काठमाडौ– निर्वाचन आयोगले तोकिएको मिति (बैशाख ३१) मा निर्वाचन सम्पन्न गर्न र निर्वाचनमा राजनीतिक दलहरूको सहभागिताको सुनिश्चितताका लागि आवाश्यक पर्ने राजनीतिक दल सम्बन्धी कानून उपलव्ध गराउन सरकारसँग माग गरेको छ ।
आयोगले राजनीतिक दल सम्बन्धी विधेयक, २०७३ को मस्यौदालाई ऐनको रूपमा पारित गराउन आवश्यक व्यवस्था गर्नका लागि गृह मन्त्रालयलाई पत्र लेखेर अनुरोध गरेको हो ।
त्यस्तै आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न स्थानीय तहको पुनर्संरचना प्रतिवेदन अनिवार्य हुने भएकोले उक्त प्रतिवेदन पनि शीघ्र आयोगमा उपलब्ध गराइदिन नेपाल सरकारलाई अनुरोध गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले सरकारले २०७४ साल बैशाख ३१ गते आइतबार का लागि स्थानीय तहको निर्वाचन मिति तोकेकोमा धन्यवाद दिदै तोकिएको मितिमा स्वच्छ तथा स्वतन्त्र चुनाव गर्न आयोग प्रतिवद्ध रहेको जनाएको छ ।
। त्यसैगरी आयोगले अन्तिम मतदाता नामावली तयार गर्न मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांश (२) बमोजिम निर्वाचनको मिति घोषणा भएपछि नाम दर्ता नगरिने भएकाले २०७३÷११÷१० गतेबाट सबै स्थानमा सञ्चालन गरिएको मतदाता नाम दर्ता कार्य स्थगित गरेको जनाएको छ ।
त्यस्तै आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको मिति २०७३÷११÷०९ लाई नै मतदाता नामावली ऐन, २०७३ को दफा ६(ख) बमोजिम मतदाताको उमेर १८ (अठार) वर्ष पूरा भएको मिति मानी अन्तिम मतदाता नामावली तयार गर्ने समेत निर्णय गरेको छ । मतदाता नामावली सच्चाउन जिल्ला सदरमुकाममा २०७३÷११÷१७ देखि २०७३÷११÷२१ सम्ममा अनुरोध गरेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।