काँग्रेसमा संस्थागतका नाममा हालीमुहाली

काठमाडौं, फाल्गुन १३ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा केही केन्द्रीय सदस्यले पार्टी संस्थागत रुपमा चल्न नसकेको भन्दै सीमित व्यक्तिले संस्थागतका नाममा हालिमुहाली गरेको गुनासो गरेका छन् । केही दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको केन्द्रीय समितिको बैठकमा केही केन्द्रीय सदस्यहरुले पार्टी विधिविधानभन्दा केही सीमित व्यक्तिले नै संस्थागत स्वरुप दिएर काम गरेकोप्रति असन्तुष्टि पोखेका हुन् ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माणका सन्दर्भमा पनि केन्द्रीय समितिमा नीतिगत र संस्थागत परामर्श नभई केही सीमित व्यक्तिबाटमात्र काम भएको भन्दै बैठकमा सरकारको कामकारवाहीप्रति पनि सदस्यले असन्तुष्टि पोखेको जानकारी गराउनुभयो ।
बैठकमा समसामयिक राजनीतिका साथै संविधान निर्माणका बारेमा गम्भीर रुपमा छलफल भएको र केन्द्रीय सदस्यहरुले सहमति र प्रक्रियालाई सँगसँगै अघि बढाउनुपर्नेमा नेतृत्वलाई सुझाव दिएको नेता केसीले आज सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको सभापतित्वमा भएको बैठकमा संविधान निर्माणका सम्बन्धमा शान्ति प्रक्रियाका सहयात्री सबै पक्षलाई सहमतिमा सँगै लिएर अघि बढ्नुपर्नेमा सदस्यहरुले जोड दिएका छन् ।
संविधान निर्माणका सम्बन्धमा प्रत्येक बुँदामा सहमति हुन नसक्ने भएकाले प्रक्रियामा जानैपर्छ भन्दै पार्टी प्रवक्ता तथा केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले बैठकमा आन्दोलनरत पक्षको सहमति लिएर प्रक्रियामा जाने दबाब आएको जानकारी गराउनुभयो ।
बैठकमा पार्टी र सरकारका कामकारवाहीप्रति गुनासो आएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता बडूले पार्टी र सरकार एकल निर्णयले नभई सामूहिक निर्णयका आधारमा चल्ने भएकाले सबै जसअपजसको भागीदार पनि सामूहिक रुपमा सबैले लिनुपर्ने बताउनुभयो । साथै प्रवक्ता बडूले पार्टीमा सबैले गुटगत स्वार्थभन्दा माथि उठेर आफ्नो दायित्वबोध गर्नुपर्ने र कसैलाई दोषारोपण गर्नुभन्दा सामूहिक जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।
यसअघि पार्टीको अनुशासन समितिको निर्णयउपर परेका पुनरावेदन र पार्टीको १३आँै महाधिवेशनका सम्बन्धमा निर्णय भइसकेको छ भने आज भ्रातृ संस्थाहरूको महाधिवेशन तथा संविधान निर्माणका बारेमा ठोस निर्णय गरिने बताइएको छ । आज बिहान ८ बजेका लागि बोलाइएको चौथो दिनको बैठक करिब डेढ घन्टापछिमात्र सुरु भएको थियो ।