काँग्रेसको निश्कर्ष : अन्तर्घातले चुनाव हारियो

डोटी– पार्टी भित्रकै अन्तरघातका कारण चुनाव हारिएको नेपाली कांग्रेस डोटीले निश्कर्ष निकालेको छ । आइतबार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले अन्तरघातका कारण पार्टीका उम्मेदवार पराजित भएको बताएको हो ।
सजिलै जित्ने स्थानीय तहमा समेत पार्टीका उम्मेदवार पराजित भएको हुँदा पार्टी भित्र अन्तरघात भएको छ भन्ने कुरा प्रस्ट भएको कांग्रेस डोटीका जिल्ला सभापति प्रदीप देउवाले बताए ।
दिपायल–सिलगढी नगरपालिकामा पार्टी्भित्रकै अन्तरघातका कारण चुनाव हारेको पार्टीका नगर सभापति गणेश मलासीले बताए ।
कांग्रेसमै बसेर कांग्रेसको विपक्षमा जनता भड्काउने, मतदातालाई अरु पार्टीलाई भोट हाल्न लगाउने गतिविधि भएको नगर सभापती मलासीको आरोप रहेको छ ।

पार्टीले ढिलो टिकट दिनु पनि हारको अर्को कारण भएको कांग्रेसबाट दिपायल–सिलगढी नगरपालिकाको प्रमुखका उम्मेदवार बाजीसिंह खड्काले बताए ।
निर्वाचनमा पार्टीलाई हराउन लाग्नेलाई कारबाही गरिने जिल्ला सभापति प्रदीप देउवाले बताए । पार्टीलाई घात गर्नेलाई जिल्लामा समितिको बैठक बसेर गाउँको रिपोर्टका आधारमा अन्तरघातीहरुलाई कारबाही गर्ने सभापती देउवाले बताए ।