लन्डन- सेवा निवृत्त गोर्खा सैनिकहरुको समस्या अध्ययन् गर्न बनेको त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको अन्तिम प्रतिवेदन बुझाइएको छ । ब्रिटिस सरकार, नेपाल सरकार र भूपू गोर्खाहरूकाे प्रतिनिधि सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको अन्तिम दस्ताबेज विहीबार (मार्च २२ तारिख) ब्रिटिश सरकार र नेपाल सरकारलाई बुझाइएको हो ।
प्रतिवेदनमा गोर्खाहरुको मुद्दा र समस्यालाई अध्ययन् गरेर लिपिबद्ध गरिएको छ । विहीबार बेलायती रक्षा मन्त्रालय (एमओडी) मा आयोजित विशेष कार्यक्रममा १३ बूँदासहितको ४० पेजको दस्ताबेज बेलायत सरकार र नेपाल सरकारलाई बुझाइएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले बताए । एक वर्ष लगाएर तयार पारिएको प्रतिवेदनमा गोर्खा सैनिकहरूले उठाउँदै आएका सबैजसो विषयहरू समेटिएको उनको भनाई छ ।
सभापति राईका अनुसार नेपाल सरकारका तर्फबाट बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख नेपाल सरकारका प्रतिनिधि शरदराज आरणले ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरलाई बुझाए । बेलायती समय अनुसार ठिक १२ः३० बजे बेलायती रक्षामन्त्रालयमा यो दस्ताबेज बुझाइएको हो । यसैगरी बेलायतका तर्फबाट त्रिपक्षीय प्राबिधिक समितिका सह–अध्यक्ष डायमिन प्याटरसनले नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीलाई बुझाए ।
रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा ब्रिटिस रक्षा मन्त्रालयका उच्च अधिकारी, बेलायत स्थित नेपाली दूतावासका अधिकारीहरु र भूतपूर्व गोर्खा सैनिकका विभिन्न संगठनका अगुवाहरुको उपस्थीति रहेको समितिका सदस्य नरहाङ राईले बताए ।
समितिका एकजना सदस्य तथा गोर्खाहरुको अगुवा डा. चन्द्र लक्सङवाका अनुसार प्रतिवेदन बुझ्दै रक्षामन्त्री मन्त्री मार्क ल्यानकाष्टरले गोर्खाहरुको समस्या समधानको निम्ती आफू गम्भिर रहेको र चाडै पहल गर्ने बताए । उनले नेपाल भ्रमणको क्रममा नेपालका उच्चपदस्थ साथै भावी प्रधानमन्त्री केपी शर्मा ओली(उनको भ्रमण ताका ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिइनन्) लाई पनि भेटेको बताएका थिए । भेटमा सबैले गोर्खाहरुको समस्याको बिषयमा चासो रहेको उनले बताए । उनले निकै गम्भिरताको साथ गोर्खाहरुको बारेमा बोलेका थिए ।
यस्तै राजदूत सुबेदीले तत्काल नेपाल र बेलायतस्तरमा वार्ता गरिनुपर्ने बताएका थिए । उनले हजारौ नेपाली बृत्तहरुले सुखीको समाचार सुन्न आतुर रहेको बताएका थिए । उनले भने,‘हाम्रा हजारौं बृद्धबृद्धा भुपुहरु यो खुसीको समाचार सुन्न आतुर हुनुहुन्छ, उहाँहरुको अनुहारमा चाडै खुसी छवोस् भन्ने हामी सबैको चाहना छ ।’
मार्च १४ मा बेलायत सरकार, नेपाल सरकार र गोर्खाहरुको प्रतिनिधि रहेको प्राबिधिक समितिले अन्तिम दस्ताबेज तयार पारेको थियो । चार चरणको वार्तामा भएका एजेण्डाहरुलाई मूर्तरुप दिई त्यसलाई आधिकारिकता दिइएको हो । गोर्खालीहरुले उठाउँदै आएका मागमा बेलायती रक्षा मन्त्रालयका उच्च अधिकारीहरुको सहमति जुटाएर दूतावासकातर्फबाट आरण र बेलायती रक्षा मन्त्रालयका प्याटरसनबीच हस्ताक्षर भएको थियो ।
वार्तामा एमओडीकातर्फबाट माइकल रोबर्ट, नेपाल सरकारका प्रतिनिधि शरदराज आरण, सैनिक सहचारी कुमारबाबु थापा, भूपू गोर्खा प्रतिनिधिहरु कृष्णबहादुर राई, नरहाङ राई, ज्ञानराज राई, डा. चन्द्र लक्सम्बालगायत सहभागी थिए ।
प्रतिवदेनमा समेटिएका बूँदाहरु :-
- २२ वर्ष नोकरी पूरा गरेका ब्रिटिस गोर्खा सिपाहीले ब्रिटिस सिपाही समान दर्जा अनुसारको पूर्ण पेन्सन पाउनु पर्ने ।
- २१ वर्ष उमेरपछि १६ वर्ष नोकरी पूरा गरेका ब्रिटिस गोर्खा अफिसरले ब्रिटिस अफिसर समान दर्जा अनुसारको पूर्ण पेन्सन पाउनु पर्ने ।
- १५ वर्ष नोकरी पूरा गरेका ब्रिटिस गोर्खा सिपाहीले ब्रिटिस सिपाहीले पाउने २२ वर्षको पेन्सनको अनुपातिक १५ वर्षको पेन्सन दर्जा अनुसारले पाउनु पर्ने ।
- अप्रेसनल ड्युटीमा मारिएका, मरेका र घाइते भएका ब्रिटिस गोर्खाले ब्रिटिस समान लिबरल र डीसएबिलिटी (घाइते) पेन्सन पाउनु पर्ने साथै अन्य पेन्सनहरु जस्तैः बिधवा, मेडिकल आदि सबैखाले पेन्सनहरु ब्रिटिस सिपाही समान पाउनु पर्ने
- सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाहरुले क्षतिपूर्ति एकमुष्ट रकम पाउनु पर्ने ।
- सन् १९७५ पछि नोकरीबाट बर्खास्त गरिएकाहरुले ब्रिटिस सिपाही समान प्रिजभड पेन्सन पाउनु पर्ने
- ब्रिटिस गोर्खा सिपाहीले बेलायतमा रहदा नेशनल इन्स्युरेन्स (राष्ट्रिय विमा) तिरेको र मलाया, हङकङ र नेपालमा रहँदा ब्रिटिस सिपाही समान तलब नदिएको हुँदा ‘स्टेट पेन्सन’ पाउनु पर्ने ।
- ब्रिटिस गोर्खा सिपाहीको पेन्सन ब्रिटिस सिपाही समान तुरुन्त बनाउनु पर्ने
- ब्रिटिस गोर्खाहरुलाई ऐतिहसिक अन्याय भएको हुँदा अन्यायको क्षतिपूर्तिका लागि सद्भावना पेमेन्ट (गुडवील पेमेन्ट) दर्जा र नोकरीको अवधि अनुसार पाउनु पर्ने ।
- पेन्सन वा बर्खास्त भएका तर, मरिसकेका ब्रिटिस गोर्खाका छोराछोरीहरुले सद्भावना पेमेन्ट (गुडवील पेमेन्ट) पाउनु पर्ने ।
- ब्रिटिस रक्षा मन्त्रालयले ब्रिटिस गोर्खाहरुको लागि मेडिकल सुबिधा इन्डियन गोर्खाहरुले नेपालमा पाएको समान मेडिकल सुबिधा गरिदिनु पर्ने ।
- ३० वर्ष भन्दामाथि उमेरका ब्रिटिस गोर्खाका छोराछोरी सबैलाई बेलायती आवासीय भिसा दिइनु पर्ने ।
- भूतपूर्व ब्रिटिस गोर्खा र परिवारलाई ९० दिन नेपाल बस्न पाउने सुबिधा मिलोस ।
- भूतपूर्व ब्रिटिस गोर्खाहरुले पाउने पेन्सन सुबिधा नेपाल राष्ट्र बैंकमा जाने व्यवस्था मिलाउनु पर्ने ।






