काठमाडौं, १२ फागुन । सरकारले राष्ट्र बैंकको गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । सिफारिस समितिमा हिमालय शमशेर राणा र पार्थिवेन्द्र तिमिल्सिनालाई सदस्य राखिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । हालका गभर्नर युवराज खतिवडाको कार्यकाल चैत्रको पहिलो साता सकिँदैछ ।
यसैगरी, बैठकले संगीतकार अम्बर गुरुङको स्वास्थ्य उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद बैठकले नेपाली सेनाको रिक्त रथी पदमा राजेन्द्र क्षेत्रीलाई बढुवा गर्ने निर्णय पनि गरेको छ । रथीमा बढुवासँगै क्षेत्रीलाई भावी प्रधानसेनापति बन्न बाटो पनि खुलेको छ । प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँणलाई पनि बढुवा गरी विकास निर्माण निर्देशनालयमा पदस्थापन गरिएको छ । बैठकले कानुन सुझाव आयोगको सदस्यमा अधिवक्ताहरु विजया अर्याल, बलबहादुर राई र दुर्गा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, खुला विश्वविद्यालयको कार्यकारी निर्देशकमा राजेश अग्रवाल, उदयपुर सिमेन्टको महाप्रबन्धकमा सुरेन्द्र पौडेल र उच्चस्तरीय प्रशासन सुधार सुझाब आयोगको अध्यक्षमा काशिराज दाहाल नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।
गर्भनर छान्न अर्थमा समिति






