लन्डन– लन्डनस्थित नेपाली दूतावासमा बुधबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।
चर्चित ब्रिटिस अभिनेत्री जोआना लुम्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संगीतमय भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री जोआना लुम्लेले नेपालीबाट आफूले पाएको माया र सदभाव अमूल्य रहेको बताइन् ।

दूतावासले गरेको स्वागतप्रति आभार व्यक्त गर्दै उनले पुरुषसँग प्रतिस्पर्धी हुन आफ्नो सीप र दक्षता वृद्धि गर्न सुझाव दिइन् । बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले तिज र नारी दिवस गरी दुई पटकमात्रै दूतावासमा महिलाका लागि काम गरिएको जानकारी दिए । उनले दूतावासलाई नेपाली महिलाहरुको ‘माइतीघर’ बनाउने चाहना रहेको पनि बताए ।
राजदूत पत्नी पुनमराज्य लक्ष्मी सुवदीले स्वागत मतव्य व्यक्त गर्दै बेलायतमा रहेका नारीलाई एकत्रित गराउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा चर्चित गायिका मिरा राणाले ‘जहाँ गाए पनि’ र ‘मखमली चोलो’ बोलको गीत गाएर अभिनेत्री जोआनालाई स्वागत गरिन् ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नाच समेत प्रस्तुत गरियो । कार्यक्रममा गायिका मथुरा श्रेष्ठले पनि गीत गाइन् भने अमृता गिरी, आस्था जोशी, आयुशा श्रेष्ठ, अनु श्रेष्ठ, सौरभी दाहाल, संगिता मगर, सिम्मी पुन र दिक्षा सुनुवारले नाच प्रस्तुत गरे ।
कार्यक्रममा अभिनेत्री जोआनालाई मायाको चिनो प्रदान गरिएको थियो ।






