सहिदलाई सम्मान गर्न सुखानीमा यसरी हुन्थ्यो एमाले र माओवादीबीच झडप

झापा : सुखानीका सहिदप्रति सम्मान गर्न सधैँ हानाथाप गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सोमवार एउटै कार्यक्रमस्थलमा देखिए । झापा इलामको सीमावर्ती सुखानीमा भेला भएर उनीहरुले संयुक्तरुपमा सहिदप्रति सम्मान जनाएका हुन् ।

‘पहिले कसले कार्यक्रम आयोजना गर्ने भन्ने विषयमा विवाद हुन्थ्यो’, एमाले नेता देबेन्द्र दाहालले सुखानीमा कार्यक्रम आयोजना गर्दाका पुराना दिन सम्झिदै भने, ‘आज एउटै थलोमा भेला भएर सहिदप्रति सम्मान गर्ने जुन अवसर मिलेको छ, यो हाम्रा लागि एउटा सुखद आश्चर्यको विषय पनि हो ।’

सुखानीमा कार्यक्रम गर्ने विषयमा कतिपटक एमाले र माओवादी कार्यकर्ताबीच झडप समेत भएको छ ।

उनले सुखानीमा कार्यक्रम गर्ने विषयमा कतिपटक एमाले र माओवादी कार्यकर्ताबीच झडप समेत भएको स्मरण गरे । दुई पार्टी एकताको औपचारिक घोषणाको पूर्वसन्ध्यामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताले सुखानीमा मारिएका सहिदलाई एकपटक फेरि सम्झिएका हुन् ।

निरकुंश पञ्चायती शासनविरुद्ध संघर्ष गर्दा झापाबाट इलाम जेल सार्ने बहानामा तत्कालीन सरकारले ४५ वर्षअघि फागुन २१ गते अपरान्ह कम्युनिष्ट योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बीरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा इलामको सीमावर्ती सुखानीमा गोली हानेर मारेको थियो ।

 

‘विभत्स ढंगले उहाँहरु मारिनु भयो’, झापा आन्दोलनका नेता नरेश खरेल भन्छन्, ‘पञ्चायती सरकार समक्ष उहाँहरुले घुँडा टेक्नु भएको भए उज्यालो वर्तमान आउने थिएन, नत परिकल्पना गर्ननै सकिन्थ्यो ।’ विभाजित कम्युनिष्ट पार्टीको एकताले मात्रै सहिदहरुको चाहना प्रतिविम्वित गर्ने एमाले नेता खरेलले बताए ।

 

माओवादी केन्द्र प्रदेश नम्वर १ संसदीय दलका नेता टंक आङ्वोहाङ जनताको मुक्ति र स्वतन्त्रताका लागि सुखानीका सहीदको योगदान अविष्मरणीय रहेको बताउँछन् । उनले अव सहिदका सपना पूरा हुने दिन आएको बताउँदै दुई पार्टी एकताको प्रक्रिया अव कुनै हालतमा नरोकिने बताए ।

पूर्व सांसद रविन कोइराला कम्युनिष्टका लागि सुखानी एउटा पवित्र तीर्थस्थलका रुपमा विकसित भएको बताउँछन् । ‘त्याग बलिदान र निष्ठाको एउटा पवित्रभूमि हो सुखानी’, कोइरालाले भने, ‘सहिदका सपना जनताका सपना हुन् । ती सपना पूरा गर्ने बाटोमा अवको राजनीति केन्द्रीत हुनु पर्छ ।’