काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनेमा कुनै शंका नरहेको बताएका छन्।
४५औं सुखानी शहीद स्मृति दिवसमा साेमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले देश निर्माणका लागि दुवै पार्टीका नेताहरु आफ्नो स्वार्थ त्याग्न तयार रहेको बताएका हुन्।
केही प्रतिक्रियावादीहरु एमालेका नेताहरु एकता गर्न मानेका छैनन् भनेर कुप्रचार गरिरहेकाे जिकिर गर्दै अाेलीले एमालेमा सबै अनुभवी र खारिएका नेता भएकाले त्यस्ता प्रचारको कुनै अर्थ नहुने बताए। ‘एमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस्,’ ओलीले भने।
सुखानीका शहीदहरुको बलिदानको स्मरण गर्दै ओलीले लोकतन्त्रका लागि शहीदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाएका छन्।
पञ्चायती शासकले हत्या गरेका सुखानी ५ जना शहीद दुर्गानन्द झा, भीमदत्त पन्त लगायतलाई शहीद घोषणामा विगतका सरकारले कञ्जुस्याँई गरेको ओलीकाे अाराेप थियाे। ‘दुई वर्षअघि म प्रधानमन्त्री भएका बेला मात्र उहाँहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गरियो,’ अाेलीले भने।
प्रधानमन्त्री ओलीले सरकार सबै नागरिकलाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूत गर्न तयार रहेको बताएका छन्। ‘शहीदहरुले सामाजिक सद्भाव, राष्ट्रिय एकता, शान्ति र सृमद्धिका लागि नै बलिदान गरेका थिए,’ ओलीले भने ‘शहीदहरुको त्यो भावनाको हमी उच्च कदर गरेर काम गर्छौं।’
वामगठबन्धनको बहुमतको सरकार देखेर केही मानिसहरु आतिएको बताउँदै ओलीले यसलाई विभिन्न बहानामा कमजोर पार्ने कोसिसहरु असफल हुने प्रष्ट पारेका छन्।
उनले नेकपा एमाले पहिलो पार्टी, कम्युनिष्ट पार्टीको सरकार, कम्यूनिष्ट पार्टीको प्रदेश र स्थानीय सरकार भन्ने बानी बसाउनु पर्ने बताएका छन्।
कम्युनिष्टहरुलाई फुटाएर फेरि आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाए जस्तो मात्र हुने ओलीले बताएका छन्। ‘सपना चकलेट खाएको देख्यो, ब्यूझिँदा मुख गुलियो हुँदैन,’ अाेलीले भने, ‘कम्युनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ।’
तत्कालीन शासकले पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका पाँच झापाली योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सीमानामा पर्ने सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए।






