काठमाडौं, फागुन १० – एमाओवादी अध्यक्ष प्रचण्डले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो ज्यानमाथि खतरा रहेको अभिव्यक्ति दिए पछि त्यसबारे सरकारको गम्भिर ध्यानाकर्षण भएको भन्दै शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।
गृहमन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाद्वारा जारी विज्ञप्तिमा सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिहरुलाई आवश्यक स्तरमा सुरक्षा व्यवस्था उपलब्ध गराउँदै आएको उल्लेख गर्दै प्रचण्डलाई सुरक्षाबारे विश्वस्त हुन अनुरोध गरेको छ ।
विज्ञप्तिमा प्रचण्डलाई आफ्नो ज्यानमाथि भएको असुरक्षाबारे प्राप्त सूचना र त्यसको स्रोतको बारेमा नेपाल सरकारलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ –
‘पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेताको सुरक्षा संवेदनशीलताप्रति नेपाल सरकार पूर्ण सजग छ । सोही अनुरुप उहाँलाई अहिले पनि अत्यन्त उच्चस्तरको सुरक्षा व्यवस्था गरिएको छ ।
आफू उपर कुनै किसिमको असुरक्षा हुनसक्ने बारेमा प्राप्त सूचना वा त्यसको स्रोतकोबारेमा नेपाल सरकारलाई जानकारी गराई सहयोग गर्न हुन सादर अनुरोध गरिन्छ ।’








