धादिङ, फागुन १० – प्रधानमन्त्री सुशील कोइरालाले नेपाली काँग्रेसले संविधान ल्याउनकै लागि लामो समयदेखि राजनीतिक सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै जतिसुकै ठूलो मूल्य चुकाएर भए पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
धादिङको बैरेनीमा आइतबार आयोजित गणेशमान सिंह बलिदान अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै पक्षको सहमतिमा संविधान जारी गर्ने प्रतिबद्धताअनुरुप साझा सहमति बन्न नसकेकाले माघ ८ मा संविधान जारी गर्न नसकेको स्वीकार गरे ।
उनले भने – देशमा शान्ति, लोकतन्त्र र स्थायित्वका लागि संविधान चाहिएको छ । देशलाई समृद्धिको बाटोमा अघि बढाउन र कृषि, पर्यटन, सडक, रेलवेलगायतका क्षेत्रमा विकास गर्न मैले जनतासँग शान्ति मागिरहेको छु ।
“अहिले आन्दोलन होइन संविधान निर्माण र देश विकास गर्ने समय हो,” उनले भने । आन्दोलनरत दलहरुतर्फ लक्षित गर्दै उनले अहिले तर्साउने, थर्काउने र धम्काउने बेला नभएको बताए ।
नेपाली काँग्रेस धेरै दुःख सहेर यहाँसम्म आइपुगेको पार्टी हो भन्दै उनले जसले जतिसुकै आन्दोलनको धम्की दिए पनि संविधान ल्याएरै देखाउने दाबी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा रामशरण महतले अहिले राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले लोकतन्त्र, शान्ति र आर्थिक विकासमा लाग्न जनतालाई आग्रह गरे ।
त्यसैगरी, वनमन्त्री महेश आचार्यले गणेशमान सिंह समताको प्रतीक भए जस्तै सबै मिलेर समतामूलक संविधान जारी गर्नुपर्नेमा जोड दिए । उनले संविधानसभा छाडेर हिंसात्मक आन्दोलनतर्फ नलागी संविधानसभाभित्रैबाट समस्याको समाधान खोजेर संविधान जारी गर्न सघाउन आन्दोलनरत दलहरुलाई आग्रह गरे ।
गणेशमान बलिदान अभियानअन्तर्गत गणेशमान सिंह भद्रगोल जेल तोडेर भाग्ने क्रममा विश्राम लिएको धादिङको बैरेनी गाउँ विकास समिति वडा नं ८ मा चौतारो निर्माण गरी आइतबार उद्घाटन गरिएको छ । प्रधानमन्त्री कोइरालाले चौतारोमा बर–पिपल रोपेर चौतारोको उद्घाटन गरेका थिए ।
बलिदानी अभियान यात्राअन्तर्गत गणेशमान जेल तोडेर देश यात्रामा निक्लेको बाटोमा उनले जन्मशताब्दीको अवसर पारी नेकाको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पैदल यात्राको आयोजना गरेको हो ।
यात्राअन्तर्गत नुवाकोट जिल्लाले धादिङ जिल्लालाई गणेशमानको फोटो र झन्डा हस्तान्तरण गरेको छ ।
अभियानअन्तर्गत नेविसङ्घ धादिङले सोमबार धादिङको बेनीघाटमा गणेशमानको स्मृतिमा कवि गोष्ठीको आयोजना गरी गोरखा जिल्लालाई झन्डा र गणेशमानको फोटो हस्तान्तरण गर्ने भएको छ ।






