लण्डन । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवम प्राध्यापक डा सुर्य सुवेदीको एक ग्रन्थ चिनीया भाषामा अनुवाद गरी प्रकाशित गरिएको छ ।
यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन चिनीया भाषामा अनुवाद भइ प्रकाशन भएको भएपनि त्यसपछि कुनै पनि नेपाली लेखकद्धारा लिखित ग्रन्थ चिनीया भाषामा अनुवाद गरेर प्रकाशन गरिएको सम्भवत यो पहिलोपटक हो ।
प्रा सुवेदीले लेखेको ‘अन्तर्राष्ट्रिय लगानीसम्बन्धी कानुन: नीति र सिद्धान्तबीचको समन्वय’ नामक ग्रन्थ आठ वर्षअघि बेलायतमा प्रकाशन भएको थियो ।
संसारका विभिन्न विश्वविद्यालयमा पठन पाठनमा उपयोग हुंदै आएको यो ग्रन्थलाई चीनका अन्तर्राष्ट्रिय कानुन विषयका एक प्राध्यापक लि मरांगले चिनीया भाषामा अनुवाद गरेका हुन । काुननसम्बन्धी पुस्तक प्रकाशनका लागि चीनमै सबैभन्दा बढि प्रतिष्ठित मानिने प्रकाशन संस्थाले सो ग्रन्थ प्रकाशन गरेको छ ।
आफनो ग्रन्थ चिनीया भाषामा अनुवाद भइ प्रकाशित भएकोमा प्रा सुवेदीले आफु हर्षित र गौरवान्वित भएको बताएका छन ।
प्राध्यापक सुवेदी बेलायतस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुन विषयका प्राध्यापक छन ।






