बेलायतमा रहेका पूर्वडीएसपीले लेखे माओवादी द्वन्द्वबारे पुस्तक

लन्डन- नेपाल प्रहरीका एक पूर्वअधिकारीले सशस्त्र द्वन्द्वको संस्मरणात्मक पुस्तक लेखेका छन् ।

बेलायत बस्दै आएका पूर्वडीएसपी शिवजी श्रेष्ठको पुस्तक ‘द माओइस्ट इन्सर्जेन्सी इन नेपाल एन्ड इट्स इम्प्याक्ट अन द नेपाल पुलिस मोराल’ लाई डेनमार्कस्थित लाम्बर्ट एकेडेमिक पब्लिसिङले प्रकाशन गरेको हो। उक्त पुस्तकलाई नेपालीमा पनि अनुवाद गरेर प्रकाशन गर्ने श्रेष्ठले जानकारी दिए।

उक्त पुस्तकमा युद्धले नेपाल प्रहरीको मनोबलमा पारेको असरमाथि केन्द्रित रही अनुसन्धानमूलक एवं संस्मरणात्मक सामग्री प्रस्तुत गरिएको छ। दस वर्षे युद्धमा १ हजार ४ सय ८६ प्रहरीको ज्यान गएको थियो। करिब २ हजार ४ सय घाइते भएका थिए भने ११ हजार २ सय ८० जनाले असुरक्षाका कारण जागिर छाडेका थिए। लेखक श्रेष्ठ पनि जागिर छाड्न बाध्य भएकामध्ये एक हुन्। उक्त पुस्तकको मूल्य ४९.९० युरो (करिब ६ हजार ५ सय रुपैयाँ) राखिएको छ। यसलाई विभिन्न मुलुकमा बिक्री गरिने श्रेष्ठले जानकारी दिए।