लन्डनको नेपाली मेला हेर्न ओइरिए हजारौं नेपाली (फोटो फिचर)

लण्डन ।  नेपाली कला, संस्कृति र भेषभूषा झल्काउने बेलायतको एउटा वृहत नेपाली मेला आइतबार केम्पटन पार्क रेस कोर्स लन्डनमा सम्पन्न भएको छ । तमुधिं युकेको आयोजनामा ११ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको हो । आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित मेला भर्न वेलायतका बिभिन्न देशबाट हजारौं दर्शकहरुको ओइरो लागेको थियो ।

गर्मि मौसमको आनन्द लिदै वेलायतस्थित समाजिक संघसँस्थाहरुले नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै नेपाली मेलामा रनौक थपेका थिए। गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न मेलाको सहकार्य नेपाली दूतावास लण्डनले गरेको थियो ।

मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले राज्यका मुलधारबाट बाहिर रहेका र देशमा भएको भेदभावको अन्त्य गर्दै विभिन्न क्षेत्रमा पछाडि परेका समुदायको संरक्षण गर्न संघिय व्यवस्था उचित भएको विचार व्यक्त गरे ।

उनले संघिय व्यवस्थामा पिछडिएका नेपालीको राज्यको निती निमार्ण सम्म पहुंच पुग्ने दावी गरे । उनले गण्डकी प्रदेशको विकास पर्यटनबाट मात्र सम्भव भएको वताउदैं भारत र चीनका पर्यटक भित्राउने गरि पर्यटन प्रर्वधनको लागि कार्यक्रम संचालन गर्ने योजना सुनाए ।

गुरुङले सरकारले देश विकासको लागि विभिन्न दिर्घकालिन आयोजना घोषणा गरेका वताए । उनले अबको २५ वर्षमा सबै नेपाली साक्षर भएर गरिवीको अन्त्य हुने दावी गरे । उनले गण्डकलाई डिजिटल प्रदेशको रुपमा विकास गर्दै प्रत्येक घरघरमा धारा र गाउँगाउँमा वाइफाई सेवा दिने उद्धघोष समेत गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै वेलायतका लागि नेपाली कार्यवाहक राजदुत शरदराज आरणले नेपालको विकासको लागि विदेशमा रहेका नेपालीहरुको उल्लेख भूमिका हुने भन्दै नेपालको व्यापार प्रर्वधन र लगानीको लागि आग्रह गरे। उनले नेपाल सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आग्रह गरे । मेलामा बेलायतस्थित विभिन्न देशका दुतावासका प्रतिनिधिहरु र स्थानीय मेयर, काउन्सिलर लगायतका अतिथि सहभागी थिए ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष नन्दजगं गुरुङले नेपाली कला संस्कृति, भाषा र परम्परा संरक्षण गर्ने परिकल्पना सहित नेपाली मेलाको आयोजना गरेको वताए । उनले नेपाली मेला वेलायतस्थित सबै नेपाली समुदायको भएको वताउँदै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरे ।

तमु धिं युके महासचिव तुलाराम गुरुङले संचालन गरेकोऔपचारिक कार्यक्रममा मेला संयोजक जुमकांजी गुरुङले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रममा बेलायतभरका विभिन्न क्षेत्रबाट हजारौं नेपालीहरु भेला भएको मेलामा दुई दर्जन बढि नेपाली संघसंस्था र समुदायले आफ्ना परम्परा एवम् संस्कृति झल्काउने झाँकीहरु प्रस्तुत गरेका थिए ।

सहभागी समुहहरुले आ आफ्ना मौलिक सांस्कृतिक नृत्यहरु समेत देखाएका थिए । स्थानीय नेपाली युवाहरुले आकर्षक सांगीतिक प्रस्तुति पस्किएका थिए । प्रतियोगितात्मक रुपमा गरिएको झाँकीका प्रस्तुतिहरु निकै आकर्षक थिए ।

साँसकृतिक झाँकी र नृत्यतर्फ दुवै विधामा प्रथम हुंदै सिक्लेस पार्चे समाजले यस वर्षको एबासडरकप जितेको छ । दुवै विधामा दोस्रो स्थान घान्द्रुक समाज यूकेले प्राप्त गरेको छ । विजेताहरुले क्रमशः ११ सय र ५ सय पाउण्डको नगद पुरस्कार जितेका छन् ।

झाँकी प्रस्तुति तर्फ  रेडिंग तमु समाज यूके तेस्रो भएको छ भने चार भञ्ज्यांग तमु समाज यूके, गोर्खा समाज यूके र पासा पुच यूकेले सान्तवना पुरस्कार हात पारेका छन् ।

नृत्यतर्फ साउथ ईस्ट रिजनल तमु धिं तेस्रो बनेको छ । सान्तवना पुरस्कार चार भञ्ज्यांग तमु समाज यूके र तामांग सोसाइटी यूकेले जितेका छन् ।मेलामा विभिन्न नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राखिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *