तक्दीर अधिकारी
सिड्नी । माकाथर क्षेत्र नेपाली समाजले आयोजना गरेको तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । हिजो शनिबार आयोजित कार्यक्रममा अरुभन्दा बेग्लै किसिमले सम्पन्न भएको समाजका अध्यक्ष राजकुमार अधिकारीले जानकारी दिए । कार्यक्रमको सुरुवातमा स्थानीय सांसद, काउन्सिलर तथा लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।
सन् २०११ मा स्थापना भएको माकाथर क्षेत्रीय समाजले सन् २०१४ देखि तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रम प्रत्येक वर्ष राम्रो र भव्य हुँदै गएको समाजका सदस्य टुङ्गानाथ खरेलले जानकारी दिए । कार्यक्रमको मुख्य केन्द्रविन्दू फेशन सो रहेको थियो । फेसन शोमा स्थानीय मोडलहरु सहभागी थिए ।
तीजमा लगाइने नेपाली पोशाकलाई प्रवद्र्धन गर्न फेशन शो आयोजना गरिएको समाजका अध्यक्ष अधिकारीले बताए । यसलाई अझ प्रभावकारी बनाउनका लागि फेशन शोक आयोजना गरिएको थियो ।
टिकटको अर्धकट्टी राफल चिठ्ठामा सामेल गराइएको थियो । पुरस्कार विजेतालाई तिलहरी उपहार दिइएको थियो । उक्त पुरस्कार बुद्ध ज्वयलर्सले प्रायोजन गरेको थियो ।
साँझ ६ बजेदेखि आयोजना हुने उक्त कार्यक्रम राति १० बजेसम्म सञ्चालन भएको थियो । त्यसअवधिमा तीजका मीठा परिकार, फेशन शो र स्थानीय कलाकारले कार्यक्रमलाई सांगीतिक माहोलमा रुपान्तरण गरेका थिए ।













