काठमाडौं– मङ्सिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि केन्द्र र प्रादेशिक सरकार गठन भएका छन् । अब मुलुकले चाँडै नयाँ राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख र उपसभामुख पनि पाउँदैछ ।
यी पदको निर्वाचनका लागि निर्वाचन कार्यतालिका नै सार्वजनिक भइसकेकाले अबको आठ दिनभित्र राष्ट्रपति र सभामुखको निर्वाचन भइसक्नेछ ।
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २९ र सङ्घीय संसदले सभामुखको निर्वाचन फागुन २६ गतेलाई निर्धारण गरिसकेका छन् ।
संसदमा स्पष्ट बहुमत वाम गठबन्धनको भएकाले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख उपसभामुख पनि यिनै दलबाट बन्ने निश्चित जस्तै छ ।
गत निर्वाचनमा ६०–४० को भागबन्डा गरेर निर्वाचनमा गएका वाम गठबन्धनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा पनि बाँडफाँड गरिसकेका छन् ।
बाँडफाँडअनुसार राष्ट्रपति एमालेले लिनेछ भने उपराष्ट्रपति माओवादीले । त्यस्तै सभामुख माओवादीले लिने र उपसभामुख एमालेले लिने सहमति यसअघि नै भइसकेको छ ।
तर, यी पदमा दलहरूले कुनकुन नेतालाई अघिसार्छन् ? भन्ने विषयमा भने अहिलेसम्म दलहरूले खुलाइसकेका छैनन् ।
यद्यपि वाम गठबन्धनबाट नयाँ राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका आकांक्षीहरूबीच तीव्र लडाइँ सुरु भएको छ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक पटक आफ्नो कार्यकाल दोहोर्याउने इच्छा प्रकट गरेका छन् । त्यसका लागि भण्डारी र पुनले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको वार्तालाई सघन बनाउँदै लगेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्याउने पक्षमा सकारात्मक देखिएका छन् ।
यसबारे अध्यक्ष ओलीले मुख नखोले पनि दोस्रो तहका ओली पक्षीय नेताले भण्डारीलाई नै दोहोर्याउनु उपयुक्त हुने बताउँदै आएका छन् ।
एमालेमा राष्ट्रपतिका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि दाबी गर्दै आएका छन् । खनाललाई एमाले उपाध्यक्ष वामदेव गौतमलगायतका नेताको साथ रहने बुझिएको छ ।
त्यस्तै भण्डारीलाई निरन्तरता नदिए पूर्वसभामुख सुवास नेम्वाङले पनि राष्ट्रपतिमा आकाङ्क्षा देखाएका छन् ।
यसबारे नेम्वाङले भने केही बताउन चाहेनन् । उनले पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने भन्दै कूटनीतिक जवाफ दिए ।
यसबारे एमालेले औपचारिक निर्णय गर्न मङ्गलबार स्थायी समिति बैठक बोलाउने तयारी गरेको छ ।
एमाले सचिव योगश भटरार्ईले राष्ट्रपति र उपसभामुखमा पार्टीभित्र नेताहरूबीच अनौपचारिक छलफल र कुराहरू भए पनि औपचारिक छलफल नभएकाले व्यक्तिका बारेमा यसै भन्न नसकिने बताए । ‘सम्भवत मङ्गलबार स्थायी समिति बैठक बस्छ, त्यो बैठकले व्यक्तिबारे टुङ्गो लगाउँछ । एमालेले सहमतिमै सबैलाई मान्य हुने त्यस्तो व्यक्ति खोज्छ, जसले कुनै विवाद नल्याओस्’ प्रचार विभाग प्रमुख भट्टराईले भने ।
एमालेले भण्डारीलाई नै निरन्तरता दिए माओवादीले पनि पुनलाई दिने नत्र नयाँ पात्रको खोजी गर्ने माओवादीका एक नेताले बताए ।
तर, माओवादी नेता अग्नि सापकोटाले एमालेसँग भएको सहमतिपछि आफ्नो भागमा परेको उपराष्ट्रपति र सभामुखका लागि पार्टीभित्र कसलाई अघिसार्ने भन्ने विषयमा नेताहरू कुनै छलफल नभएको बताए ।
‘मलाई लाग्छ, यस विषयमा शीर्ष नेताहरूबीच पनि छलफल हुन पाएको छैन तर अब समय छोटो छ, चाँडै यस विषयमा बैठक बसेर छलफल हुन्छ’, नेता सापकोटाले बताए ।
माओवादीमा उपराष्ट्रपति भन्दा पनि सभामुखका लागि धेरै नेता आकाङ्क्षी छन् । जसमध्ये नेता कृष्णबहादुर महरा, देव गुरुङ, टोपबहादुर रायमाझी, अग्नि सापकोटालागयतले सभामुखमा दाबी गरिरहेका छन् ।
एमालेका एक नेता भन्छन्, ‘पार्टीभित्र औपचारिक छलफल गर्न ढिला गरेर ठूला नेताहरुले अन्तिम समयमा आफु अनुकूल पात्र छान्न चाहन्छन् । यहीँकारण छलफल भएन ।’
संविधानमा राष्ट्रपति÷उपराष्ट्रपति, सभामुख÷उपसभामुख लैङ्गिक हिसाबमा समेत मिलाउनुपर्ने हुन्छ ।
राष्ट्रपति र सभामुख पुरुष भए उपराष्ट्रपति र उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक व्यवस्था अनुसार सङ्घीय संसदको पहिलो अधिवेशन सम्पन्न भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।
त्यही व्यवस्थाअनुसार राजनीतिक दलहरूले आन्तरिक गृहकार्य पनि गरिरहेका छन् । दलहरूसँगको छलफलका आधारमा निर्वाचन आयोगले पनि राष्ट्रपति निर्वाचनका मिति तय गरेर निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकेको छ ।
राष्ट्रपतिको निर्वाचन कार्यक्रम (फागुन २१ सोमबार) अर्थात आजैबाट सुरु भइसकेको छ । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आयोगले फागुन २१ मा मतदता नामावली प्रकाशन, २३ मा उम्मेदवारी दर्ता र २९ गते मतदानको समय तोकेको छ ।
यसरी हुन्छ राष्ट्रपतिको निर्वाचन
यसअघि संसदबाटै राष्ट्रपति निर्वाचन गरिँदै आए पनि नयाँ संविधानअनुसार अब राष्ट्रपतिको निर्वाचन निर्वाचन आयोगले नै गर्नेछ । संविधानको भाग ६ को उपधारा ६२ मा राष्ट्रपतिको निर्वाचनबारे स्पष्ट उल्लेख छ ।
जसमा सङ्घीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशका सांसदको निर्वाचक मण्डलबाट मतदान गर्ने व्यवस्था छ । सातवटा प्रदेशमा जम्मा ५ सय ५० प्रदेश सांसद छन् । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य पर्छन् । राष्ट्रियसभा ५९ सदस्यीय र प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छन् ।
राष्ट्रपतिको निर्वाचनमा कूल मतदाता ८ सय ८४ जना हुनेछन् । राष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ ।
फागुन २९ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन आयोगले कार्यालय स्थापना र पाटन उच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
सभामुख बहुमतबाट
सभामुख, उपसभामुखको छनोट संसदले गर्नेछ । जसमा प्रतिनिधिसभाका सदस्यले मतदान गर्न सक्नेछन् । मतदानमा बहुमत सदस्यको मत पाउने उम्मेदवार निर्वाचित भएको घोष्णा हुनेछ । सभामुखको निर्वाचन फाग्ुन २६ गतेलाई तय भए पनि उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छैन ।
संविधानको भाग ८ धारा ९१ मा प्रतिनिधि सभामा सभामुखको निर्वाचनबारे उल्लेख छ । जसमा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूहरू भित्रबाट सभामुख र उपसभामुखको निर्वाचन गर्न सक्ने व्यवस्था छ ।
२ उपधारा १ बमोजिम निर्वाचन गर्दा सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्था छ । तर, प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।






