काठमाण्डौ २२ असोज । नेपालमाथि भइरहेको नाकाबन्दीलाई भारतले एकपटक फेरि अस्वीकार गरेको छ । नेपालमा अफिसियल या अनअफिसियल कुनै प्रकारको नाकाबन्दी नगरिएको जनाउँदै भारतले अहिलेको समस्या नेपालकै कारण सिर्जना भएको दाबी गरेको छ ।
नेपालमा भारतबाट भइरहेको अवरोधबारे बिहीबार दिल्लीमा पत्रकार सम्मेलन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालतर्फ भएको असुरक्षा र हिंसात्मक प्रदर्शनका कारण भारतबाट मालवाहक सामान जान नसकेको दाबी गरेका हुन् ।
दुई साता लामो नाकाबन्दीले नेपालमा पेट्रोलियमसहितका दैनिक उपभोग्य सामान आउन नसकेको अवस्थामा भारतले नेपालले विकल्प खोजेमा त्यसको स्वागत गर्न तयार रहेको जनाउ दिएको छ ।
पत्रकार सम्मेलनमा पेट्रोलियमसहितका सामाग्री ल्याउन नेपालले भारतको विकल्पमा चीनबाट पेट्रोलियसहितका सामाग्री ल्याउन खोजीरहेकोबारे सोधिएको प्रश्नको उत्तर दिँदै प्रवक्ता स्वरुपले नेपाल स्वतन्त्र राष्ट्र भएकाले उसले गर्ने निर्णयको आफूहरुले स्वागत गर्ने प्रतिक्रिया दिए ।
तर प्रवक्ता स्वरुपले नेपालका लागि भारतजस्तो अर्को विकल्प कुनै देश हुन नसक्ने पनि दाबी गर्न भुलेनन् ।
‘भारतको विकल्प खोजेर चीन या अन्य मुलुकसँग सम्बन्ध बढाउँछन् भने उनीहरु स्वतन्त्र देश हुन्, उनीहरुको निर्णयमा हामी स्वागत गर्न तयार छौं’, उनले भने, ‘तर नेपाल भारतबीच रहेको रोटी–बेटीको सम्बन्ध बराबर कुनै पनि देशले योगदान दिन सक्दैन । यो कुरा नेपालले पनि बुझेको छ । भारतसँगको नागरिक र सांस्कृतिस्तरको सम्बन्धबराबर अरुले नेपाललाई साथ दिन सक्दैन ।’
नेपालमा हालै पारित नयाँ संविधान नस्वीकार्ने एउटा समूहको मागको सुनुवाई हुन नसक्दा नेपालमा जटिलता बढेको उल्लखे गर्दै स्वरुपले उनीहरुले चाहेअनुसार संविधानमा संशोधन भएमा सबै समस्याको समाधान हुने दाबी गरे ।
‘भारत–नेपाल सीमानमा रहेको असुरक्षाको वातावरण तत्काल समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्छौं’, स्वरुपले भने, ‘अहिलेको सीमानको सबै समस्या नेपालका कारण सिर्जना भएको हो । त्यहीकारण नेपालमा भारतविरोधी भावना बढाउनु हाम्रा लागि दुःख लाग्दो कुरा हो ।’
भारतको सल्लाह नमान्दा समस्या
भारतले आफूहरुको सल्लाह नसुन्दा नेपालमा अहिलेको जटिलता आएको दाबी गरेको छ ।
‘हामीले लामो समयदेखि सुझाव दिँदै आएका छौं’, स्वरुपले भने, ‘हामीले सुझाव दिएको कुनै नयाँ कुरा होइन । हामीले नेपाललाई समयमै सुझाव दिएका थियौं, ढिलो गरेर होइन ।’
उसले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदी दुई पटक नेपाल गएर दिएको सल्लाह बमोजिम संविधान नल्याउँदा नेपाल अस्थिरतातर्फ गएको दाबी गरेको छ ।
‘हाम्रा प्रधानमन्त्री दुई पटक नेपाल गएर सुझा दिनुभयो । विदेशमन्त्रीले पनि सबैले स्वीकार्ने संविधान बनाउन भन्नुभयो’, स्वरुपले भने, ‘पछिल्लो पटक हाम्रा विदेश सचिव गएर पनि सुझाउनु भएको हो । हामीले ढिलो होइन, बेलैमा सुझाएका हौं, तर हाम्रा कुरालाई गम्भीरतापूर्वक नलिँदा अहिले मधेसमा समस्या आएको हो।’
नौवटा नाकामा ५ हजार कन्टेनर
भारतले आफ्नो भूमिबाट नेपाल प्रवेशका लागि करिब ५ हजार कन्टेनर र ट्यांकर नेपाल प्रवेशका लागि कुरिरहेको जनाएको छ ।
सबै सीमा नाका खुल्ला भएको दाबी गर्दै नेपालतर्फको असुरक्षाले नेपाल प्रवेश गर्ने ९ वटा नाकामा ५ हजार ३३ ट्रक लाइन लागेर कुरिरहेको भारतको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता स्वरुपले दिएको जानकारी अनुसार उत्तर प्रदेशसँग जोडिएको रुपन्देहीको भैरहवा नाकामा १ एक हजार कन्टेनर रोकिएका छन् ।
त्यसैगरी बिहारमा सुनौली नाकास्थित वीरगञ्ज सीमामा ३ हजार कन्टेन रोकिएका छन् भने बिरानटनगरको जोगबनीमा ८ सय कन्टेनर रोकिएका छन् ।
त्यसैगरी पश्चिम बंगालको पानीट्यांकीमा ९० र पशुपतिनगरमा १३ वटा कन्टेनर रोकिएका भारतको दाबी छ ।
‘नेपालको भूमिमा बढेको असुरक्षाका कारण जोगबनी, रक्सौल र सुनौली नाका बढी प्रभावित भएका छन्’, पत्रकार सम्मेलनमा स्वरुपले भने,‘६ अक्टोबर यता ३ सयवटा कन्टेनर नेपाल छिरेका छन् ।’
नेपाली भूमिमा असुरक्षा हुँदा इन्डियन आयलले तेल भरेर पठाउन नसकेको भारतको भनाइ छ । वीरगञ्जमा भएको तनावले लोड भएका गाडी पनि नेपाल जान नसकेका भारतीयपक्षले जनाएको छ ।
नाकाबन्दी तत्काल नहट्ने
भारतले अहिलेको समस्याको समाधान संविधानमा संशोधनबाट खोजिनुपर्ने उल्लेख गरेको छ ।
‘अहिलेको मुस्किलको समाधान नेपालले नै निकाल्नुपर्छ’, स्वरुपले भनेका छन्, ‘आफ्ना मानिसहरुसँग वार्ता गरेर नेपाली नेतृत्वले निष्कर्श निकालोस् । गतिरोध हटेन र मधेसीको आन्दोलन चलिरह्यो भने अवरोध हट्न सक्दैन ।’नेपालमा मधेसी दलसँग एक चरणको वार्ता भइसकेको जनाउँदै भारतले अब दोस्रो चरणको वार्ताबाट समस्याको समाधान निस्कने विश्वास गरेको छ ।
‘जबसम्म नेपालमा यो समस्याको राजनीतिक समाधान खोजिन्न, तबसम्म भारतबाट नेपालतर्फ गाडी जाने अवस्था छैन’, स्वरुपले भने, ‘यसका कारण नेपालसँगै भारतलाई पनि घाटा भइरहको छ । अहिलेको अवस्थामै अवरोध जारी रहने अवस्था छ ।’
नेपालमा सवारी मजदुर असुरक्षित
भारतले तत्काल नाकाबन्दी नखोल्ने बहानास्वरुप नेपालमा आफ्ना सवारी मजदुरहरुमाथि आक्रमण भएको दाबी गरेको छ । कुनै पनि देशमा संविधान आउँदा खुसीले स्वागत हुनुपर्ने बताउँदै भारतले हिंसा र आन्दोलन हुनुनहुने जिकिर गरेको छ ।
पछिल्लो समय नेपाली भूमिमा भएका केही घटनालाई आफूहरुलाई गम्भीर बनाएको भारतको भनाइ छ ।
‘नेपाली सीमामा भएका केही घटनाले हामीलाई गम्भीर बनाएको छ । नेपाल प्रहरीबाट वीरगञ्जमा भारतीय कन्टेनरका कर्मचारीलाई आक्रमण भएको छ’, स्वरुपले पत्रकार सम्मेलनमा भने, ‘भैरहवमा २ जना कन्टेनरका कर्मचारीलाई आक्रमण गरी मरनासन्न हुने गरी घाइते बनाइयो ।’
स्वरुपले मधेसी दलका नेता कार्यकर्ताले आफ्नो भूमि टेकेर नेपालतर्फ ढुंगा हानेको र प्रदर्शन गरेको तथ्यलाई पुरै नजरअन्दाज गर्दै नेपाल प्रहरीले भारतीय भूमिमा टियर ग्यास हानेको दाबी गर्न भ्याए ।
‘नेपाल पुलिसले वीरगञ्ज सीमानाकाबाट भारतीय भूमिमा टियर ग्यास हान्दा भारतीय कन्टेरनका मजदुर प्रभावित भए’, स्वरुपले भने, ‘नेपालको तर्फबाट आक्रमण नहुने ग्यारेन्टी नभएसम्म कन्टेनरहरु नेपाल जाने अवस्था छैन ।’
भारत विरोधी नारा लाग्नु गलत
नेपालको अहिलेको समस्या नेपालका प्रमुख दलका कारण भएको बताउँदै स्वरुपले नेपालका कारण आएको समस्यालाई लिएर भारतविरुद्ध आन्दोलित हुनु गलत भएको टिप्पणी गरे ।
‘नेपालमा हामीविरुद्ध भइरहेको प्रदर्शनले हामी चिन्तित छौं’, उनले भने, ‘नेपालीले सिर्जना गरेको समस्याको तत्काल वार्ताबाट समाधान गरिनुपर्छ । भारतलाई आरोपित गर्न छोडेर नेपाली नेतृत्वले समस्याको समाधान गरेमा नेपालसँगको सदियौंदेखिको सम्बन्धले पुनः निरन्तरता पाउने छ ।
युरोपियन युनियनले पनि वार्ताबाटै सामाधान खोज्न भनेको प्रसंग निकाल्दै स्वरुपले आफूहरु पनि त्यही लाइनमा रहेको जिकिर गरे ।






