काठमाडौं– नेकपा एमालेले मंगलबारको लागि स्थायी कमिटी बैठक बोलाएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
मङ्सिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि केन्द्र र प्रादेशिक सरकार गठनसँगै मुलुकले चाँडै नयाँ राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख र उपसभामुख पनि पाउँदैछ । विशेषगरी यही विषयमा बैठकमा छलफल हुने बुझिएको छ ।
यी पदको निर्वाचनका लागि निर्वाचन कार्यतालिका नै सार्वजनिक भइसकेकाले अबको आठ दिनभित्र राष्ट्रपति र सभामुखको निर्वाचन भइसक्नेछ ।
संसदमा स्पष्ट बहुमत वाम गठबन्धनको भएकाले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख उपसभामुख पनि यिनै दलबाट बन्ने निश्चित जस्तै छ । तर, एमालेभित्र पनि पार्टीले पाउने पदमा को उम्मेदवार बन्ने भन्नेमा कुनै छलफल नभईसकेको अवस्थामा स्थायी कमिटी बैठकमा यो विषयले प्रवेश पाउने निश्चित छ ।
गत निर्वाचनमा ६०–४० को भागबन्डा गरेर निर्वाचनमा गएका वाम गठबन्धनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा पनि भागबण्डा गरिसकेका छन् । उक्त भागबण्डाअनुसार राष्ट्रपति एमालेले लिनेछ भने उपराष्ट्रपति माओवादीले । त्यस्तै सभामुख माओवादीले लिने र उपसभामुख एमालेले लिने सहमति यसअघि नै भइसकेको छ ।
वाम गठबन्धनबाट नयाँ राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका आकांक्षीहरूबीच तीव्र लडाइँ सुरु भएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक पटक आफ्नो कार्यकाल दोहोर्याउने इच्छा प्रकट गरेका छन् । त्यसका लागि भण्डारी र पुनले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको वार्तालाई सघन बनाउँदै लगेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्याउने पक्षमा सकारात्मक देखिएका छन् ।
यसबारे अध्यक्ष ओलीले मुख नखोले पनि दोस्रो तहका ओली पक्षीय नेताले भण्डारीलाई नै दोहोर्याउनु उपयुक्त हुने बताउँदै आएका छन् । एमालेमा राष्ट्रपतिका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि दाबी गर्दै आएका छन् । खनाललाई एमाले उपाध्यक्ष वामदेव गौतमलगायतका नेताको साथ रहने बुझिएको छ ।
त्यस्तै भण्डारीलाई निरन्तरता नदिए पूर्वसभामुख सुवास नेम्वाङले पनि राष्ट्रपतिमा आकाङ्क्षा देखाएका छन् ।
एमाले सचिव तथा प्रवक्ता योगश भटरार्ईले राष्ट्रपति र उपसभामुखमा पार्टीभित्र नेताहरूबीच अनौपचारिक छलफल र कुराहरू भए पनि औपचारिक छलफल नभएकाले व्यक्तिका बारेमा यसै भन्न नसकिने बताए ।






