लन्डन । बेलायतमा नेपाली समुदायले टेस्कोका कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका छन् । बेलायतमा खुलेको टेस्कोको पहिलो स्टोर बन्द हुन लागेपछि कर्मचारीका कामलाई प्रशंसा गर्दै धन्यवाद दिएका हुन ।
स्थानीय नेपाली समुदायका सदस्यहरुले स्टोरमा गई स्टोरका व्यवस्थापक तथा कर्मचारीहरुलाई धन्यवाद दिएका हुन । बुधबार बिहान बर्न्टओक नेपाली समाजका पदाधिकारी तथा सदस्यहरु बर्न्टओक ब्रोडवेस्थित टेस्को मेट्रोमा गएर सो स्टोरकी प्रबन्धक शारोन स्टब्स लगायत कर्मचारीहरुलाई धन्यवाद दिएका थिए ।
समाजको आमा समूहकी अध्यक्ष मन्जु गुरुङले स्टब्सलाई पुष्प गुच्छा प्रदान गर्दै धन्यवाद दिएकी हुन । बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले उक्त ऐतिहासिक स्टोर बन्द हुन लागेकोमा आफुहरु दुखी भएको र त्यहाँ काम गर्ने कर्मचारीहरुको मिलनसार र सहयोगी प्रवृ्त्तिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरिएको बताए ।
टेस्को केन्द्रीय कार्यालयबाट आएका अपरेशन्स म्यानेजर मोहम्मद रिफाज रजीनले स्थानीय नेपाली समुदायको सद्भावना र शुभेच्छाबाट आफुहरु भावविभोर भएको बताए।
सो अवसरमा बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्षद्वय लक्ष्य गुरुङ तथा रमेश गुरुङ, खमिरजंग गुरुङ, मिमकाजी गुरुङ, महेन्द्र गुरुङ, भगीरथ योगी, नेपाली भाषा तथा संस्कृति केन्द्र बर्न्टओकका अध्यक्ष सुमन प्रधान, हिमांशु ज्ञवाली लगायतको उपस्थिति थियो।






