काठमाडौं । सोमबार नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट अपलोड भएसँगै त्यसको चौतर्फी आलोचना भएको छ ।
अत्यन्तै तुच्छ शब्दहरु प्रयोग गरी उक्त भिडियो बनाइएको छ, जहाँ नेपालको राष्ट्रियता विरुद्ध देशको झण्डा जलाइएको छ । र्यापर जनरामा गाइएको गीतको लिरिक्स र्यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ ।
युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।
यस भिडिओको ४० औं सेकेन्डमा गायक ‘गेल्जङ दोर्जे तामाङले झण्डा जलाएको देखिन्छ। भिडिओमा राष्ट्रिय झण्डा जलाएपछि अहिले चौतर्फी विरोध भइरहेको छ। धेरैले गायकलाई कारबाहीको माग गरेका छन् भने भिडिओलाई हटाउन समेत माग गरिएको छ।
क्यामेराम्यान समातिए
यसैबिच म्युजिक भिडिओ बनाउने क्यामेरामेन पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार इजास लिम्बुलाई काठमाडौंबाट पक्राउ गरेको हो।
भिडियोका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको अपराध महाशाखाले जानकारी दिएको छ। उक्त म्युजिक भिडियोका गायकलाई प्रहरीले खोजी गरिरहेको छ।
के हुन्छ कारबाही ?
उक्त भिडियोमा जातजातीबीचको सम्बन्धलाई बिगारी साम्प्रदायिकता फैलाउने खालका शब्द प्रयोग भएको छ।
बाहुन–क्षेत्रीलाई आदिबासीको ‘दुश्मन’ का रुपमा प्रस्तुत गरिएको गीतको नाम ‘देशद्रोही’ रहेको छ। ‘मंगोल होप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा बाहुन–क्षेत्रीलाई शरणार्थीको संज्ञा दिँदै देशै छाडेर जान धम्की दिइएको छ।
भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको तस्बिर पनि जलाइएको छ।
उक्त कार्य मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) विरुद्धको कसुर देखिएको छ। त्यसमा लेखिएको छ, ‘…जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायीक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षडयन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन।’
यस्तो कार्य गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।
त्यस्तै दोस्रो, भिडियोमा नेपालको झण्डा अर्को अपराध गरेको देखिन्छ। राष्ट्रिय झण्डा जलाउने कार्य ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदा बिरुद्धका कसूर’ अन्तरगत राखेर मुलुकी अपराध संहिताले जेलसम्मको सजाय हुने व्यवस्था गरेको छ।
संहितको दफा १५१ को उपदफा १ मा उल्लेख गरिएको छ, ‘नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन’ भन्ने कानुनी व्यवस्था गरेको छ।
यसरी नेपालको झण्डा जलाउनेलाई सोही ऐनले तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था गरेको छ। दफा १५१ को उपदफा (२) लेखिएको छ, ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार? पैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’
यसरी उक्त भिडियो बनाउने र त्यसमा अभियन गर्नेलाई दुवै कसुरमा कारबाही हुन सक्ने अवस्था छ। देशसञ्चारकोे सहयोगमा






