माधव नेपालले जुराए नयाँ पार्टीको नाम

काठमाडौं– कैलाली एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने बताएका छन् ।

कैलालीको टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा मात्र रहने बताए ।

‘२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी थियो । त्यसपछि उक्त पार्टी फुटेर नेकपाको पछाडि माले, मसाल, मशाल, एकता केन्द्र, एमाले हुँदै माओवादी केन्द्रलगायतका नामको पुच्छर झुण्डिएको छ”, उनले भने ‘अब ती झुण्डिएका पुच्छर हटाएर एउटै नाम नेपाल कम्युनिष्ट पार्टी बन्नेछ ।”

उनले आफूहरु र जनताले पनि एउटै कम्युनिष्ट पार्टी कहिले बन्ला भनेर प्रतीक्षारत रहेको बताए । उनले धेरै पार्टी हुनुभन्दा एउटै पार्टी बनेपछि जनतालाई पनि आफ्ना कुरा राख्न सजिलो हुने धारणा राखे ।