समानुपातिक सिट बाँडफाट, कसको भागमा कति ?

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट बाँडफाँट गरेको छ । आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित हुने १ सय १० सिट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाललाई बाँडेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले शुक्रबार दलहरूलाई बाँडफाँट बमोजिमका सिटमा समावेशी र लैंगिक सन्तुलन मिलाएर नामावली पठाउन पत्राचार गरिने बताए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ सदस्य प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भइसकेका छन् ।

एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले ६/६ सिट पाएका छन् ।

प्रत्यक्षतर्फ एमालेले ८०, कांग्रेसले २३, माओवादीले ३६ राजापाले ११ र संघीय फोरमले १० सिट जितेको थियो ।

२४ माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले सबैभन्दा धेरै सिट जितेको छ । राष्ट्रिय सभाको कूल निर्वाचित ५६ सदस्य मध्ये एमालेले २७, कांग्रेसले १३, माओवादी केन्द्रले १२, राजपाले २ र संघीय फोरमले २ सिट जितेका छन् ।