काठमाडौं – कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए । तर, प्रधानमन्त्री दाहालले मन्त्रालय संख्याको पचास प्रतिशतभन्दा बढी राज्यमन्त्री थप नगर्ने अडान लिएपछि कांग्रेसले ७ राज्यमन्त्री पाउने भएको स्रोतले बतायो । कांग्रेसका भागमा १५ मन्त्रालय छन् ।
कांग्रेस सभापति देउवाले राज्यमन्त्रीमा पठाउने नाम छनोटका लागि आफू निकटहरूसँग छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्रसंघीय महासभामा जाने कार्यक्रम स्थगित भएपछि देउवा राज्यमन्त्री तत्काल पठाउने तयारीमा लागेका हुन् ।
राज्यमन्त्रीका लागि कैलालीका मीन विश्वकर्मा, दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलिप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, रामेछापका आङतावा शेर्पा, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता चर्चामा छन् । पौडेल पक्षबाट काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य र कास्कीका जीवन परियार चर्चामा छन् । पौडेल पक्षले यिनैमध्येबाट राज्यमन्त्री तय गर्ने स्रोतको दाबी छ ।






