चीनले कृषि र पर्यटन क्षेत्रमा सहयोग गर्ने

काठमाडौँ, ४ चैत । चीनले नेपालको कृषि, व्यापार, सम्पर्क विस्तार, संस्कृति र पर्यटनका क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग आज अपराह्न त्यहाँका विदेशमन्त्री याङ यीसँग बेइजिङमा भएको द्विपक्षीय वार्तामा चीनले थप सहायताको प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्तामा दुवै पक्षले उच्चस्तरका साथै जनस्तरका भ्रमण आदानप्रदान वृद्धि गर्न सहमति जनाएका छन् । मन्त्रीस्तरीय उक्त वार्तामा पारस्परिक सम्बन्धको पुनरावलोकन तथा आपसी हितका विविध विषयमा विचार आदानप्रदान, नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सव, राष्ट्रपति डा रामवरण यादवको आसन्न चीन भ्रमणबारे छलफल भएको थियो ।
राष्ट्रपति डा रामवरण यादव यही चैत १२ देखि १५ गतेसम्म चीनको बोआओमा आयोजना हुने ‘बोआओ फोरम फर एसिया’ को वार्षिक सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । नेपाल र चीनबीच २०११ सालमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।