यी हुन दुई नम्बर प्रदेशका मुख्य मन्त्री

धनुषा- संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा मो लालबाबु राउतलाई चयन गरेको छ ।

यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ ।

राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष छन् । उनी पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद छन् ।

फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन् ।

जनकपुरमा शनिबारदेखि बसेको फोरमको संसदीय दलको नेता छनोटको बैठकले आइतबार अबेर राति राउतलाई दलको नेतामा चयन गरेको हो ।

यसअघि दलको नेताका लागि राउतसहित सात जनाले उम्मेदवारी दिएका थिए ।

नेतृत्वले सहमतिको प्रयास गर्दै जाँदा अन्यले नाम फिर्ता लिँदै राउतलाई सर्वसम्मतिबाट संसदीय दलका नेताका रुपमा चयन गरिएको हो ।

प्रदेश नं २ मा फोरमको सबैभन्दा बढी २९ सिट रहेको छ ।

राजपा नेपालको २५ सिट रहेको छ ।