लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके कार्यसमितिको बैठक सम्पन्न भएको छ ।
शुक्रवार अध्यक्ष पूनम गुरुङको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संघको आसन्न निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन समितीलाई पूर्णता दिने लगायत अधिवेशन तथा निर्वाचन संग सम्बन्धित विविध बिषयमा छलफल भएको छ ।
बैठकमा एनआरएनए यूकेका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कंडेल, निर्वतमान अध्यक्ष तथा आईसीसी सदस्य योग कुमार फगामी तथा आईसीसीहरु दयानिधी सापकोटा, राम शरण सिंखडा ,सुरोज मास्के, अर्काराज तिम्सेनाको उपस्थिती रहेको थियो ।
बैठकमा एनआरएनए यूके, पदाधिकारीहरु, ४ वटै राज्य परिषदका अध्यक्षहरु लगायत २७ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त बैठकले २०१९–२१ कार्यकालको अधिवेशन आगामी जुलाई १८ तारिखको दिन भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको छ ।
त्यस्तै निर्वाचन अनलाईन माध्यमबाट सम्पन्न गर्ने, निर्वाचनमा उम्मेद्वारी दिने पदाधिकारी तथा सदस्यहरुको मनोनयन शुल्क यस अघिल्लो निर्वाचनमा तोकिए बमोजिम नै गर्ने, उम्मेद्वारी शुल्क एनआरएनए यूकेको तोकिएको खातामा अनलाईन मार्फत भुक्तानी गर्नुपर्ने निर्णय भएको छ ।
त्यस्तै सबै राज्य परिषदहरुको निर्वाचन राष्ट्रिय समन्वय परिषदले अपनाएको निर्वाचन प्रणाली अनुसार केन्द्रिय निर्वाचन समितीको मातहत तथा राज्य समन्वय परिषदको परामर्शमा सम्पन्न गर्ने, राज्यपरिषदको हकमा राज्य समन्वय परिषदको परामर्शमा आवश्यकता अनुसार निर्वाचन उपसमिती गठन गर्न सकिने समेत निर्णय भएको महासचिव फडिन्द्र भट्टराईले जनाए । उक्त उपसमितीहरुको क्षेत्राधिकार निर्वाचन समितीले तोके अनुसार हुनेछ ।
निर्वाचनको लागि आवश्यक पर्ने खर्च निर्वाचन समितीबाट माग भए बमोजिम प्रदान गर्नको लागि अध्यक्षको परामर्शमा कोषाध्यक्षलाई म्यान्डेट दिने निर्णय भएको भट्टराईले जनाए ।
एनआरएनए यूकेको आगामी जुलाई ३१ तारिखमा हुने निर्वाचनको लागि यस अघि ३० मार्च २०२१ को कार्यसमितीको निर्णय अनुसार निर्वाचन प्रमुख आयुक्तमा पूर्वअध्यक्ष महेन्द्रराज कंडेललाई जिम्मेवारी दिईएकोमा प्रमुख आयुक्तको प्रस्ताव अनुसार निर्वाचन समिती विस्तार तथा पूर्णता दिइएको छ । जसअनुसार १ सदस्य सचिव सहित ५ सदस्यीय निर्वाचन समिती गठन गर्ने सम्पूर्ण अधिकार प्रमुख निर्वाचन आयुक्त महेन्द्र राज कंडेलले पाएका छन् ।
निर्वाचन सम्बन्धि सम्पूर्ण निर्णय गर्ने अधिकारको अख्तियारी निर्वाचन समितीलाई प्रदान गरिएको छ । निर्वाचन समितीले पूर्णता पाउनासाथ आधिकारिकता सहित निर्वाचन सम्बन्धि आवश्यक कार्यसम्पादन शुरु गर्न सक्नेछ ।
एनआरएनए यूकेको नयाँ नेतृत्वको लागि आगामी जुलाई ३१ मा निर्वाचनको मिति तोकिएको छ ।






