काठमाडौं– आगामी माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु भएको छ ।
मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले त्यस्ता सामग्री प्रकाशन÷प्रसारण नगर्न आयोगले आग्रह गरेको छ ।
निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट नभएको आयोगले प्रश्ट पारेको छ ।
निर्वाचन आचारसंहिता (चौथो संशोधन २०७४) २०७२ मा मौन अवधिमा पालना गर्नुपर्ने कुराहरू :
१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने,
२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।
३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।






