लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई माल्टाको पनि जिम्मेवारी दिइएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई माल्टाका लागि समेत नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
२०७३ साल भदौमा बेलायतका लागि राजदूत नियुक्त हुनुभएका डा. सुवेदीलाई यसअघि नै आयरल्याण्डको लागि राजदूतकोसमेत जिम्मेवारी दिइएको थियो । यूरोपीय महाद्वीपमा अवस्थित माल्टा विकसित देशको सूचिमा छ । वलेत्ता राजधानी रहेको माल्टामा माल्टाई भाषा र अंग्रेजी भाषा बोलिन्छ । माल्टामा वैदेशिक राजगारीका लागि धेरै नेपालीको आकर्षण बढ्दै गएकाबेला सरकारले कुटनीतिक सम्बन्ध विस्तार गर्दै गएको छ ।






