काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
अपरान्ह ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि साथै सरकारका कामको समिक्षा लगायतका विषयमा छलफलका हुने बताइएको छ ।
यस अघि अशोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएको थियो । तर, उक्त बैठकको निर्णयलाई लिएर बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठको असन्तुष्टि रहँदै आएको छ । सचिवालयका वरिष्ठ नेता नेपालले सार्वजनिकरुपमै प्रदेश पदाधिकारीको विषयलाइ लिएर असन्तुष्टि जनाएका थिए ।
‘मुख्य त आजको बैठकमा पछिल्लो समय पार्टीभित्र देखिएको असन्तुष्टि र सरकारको काम–कारबाहीका बिषयमा केन्द्रीत रहेर छलफल गर्छौँ,’ सचिवालयका एक नेताले भने, ‘सरकारका कामकारबाहिलाई लिएर पार्टीभित्रै पनि असन्तुष्टि चर्को छ । तल्ला तहका कमिटीको एकीकरण प्रक्रियामा ढिलाई हुँदा पार्टीमा अन्यौलता छायो । अब एकीकरण प्रक्रिया छिटो टुंगो लगाउने त्यस्तै सरकारका काम कारवाहिलाई प्रभावकारी बनाउन नयाँ कदम के हुन सक्छ । मुख्यत यिनै विषयमा छलफल केन्द्रीत हुन्छ,’ ती नेताले भने ।
यस अघि बसेको सचिवालय बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए । विदेश भ्रमणमा रहेका बेला सचिवालयले प्रदेश पदाधिकारीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले चर्को असन्तुष्टि जनाउँदै आएको छ ।






