सिंहदरबारको छतमा हुर्किरहेका बालक !

सिंहदरबार परिसरभित्र युवा तथा खेलकुद मन्त्रालयको भवन, त्यसको छतमा जस्ता र कपडाले बारेर बनाईएको सानो कटेरो ।

१४ पुसमा ४ महिना टेकेका दीपसागर राई पछिल्लो एक महिनादेखि त्यही कटेरोमै छन् ।

सिंहदरबारभित्रको एउटा मन्त्रालयको छतमा सिंगो दिन बिताउने बालक को होलान् ?

चासो सबैको हुन सक्छ । यसको पछि लुकेको बाध्यताको कथा सुन्दा जो कोहिको मन भने छुन्छ ।

मन्त्रालयमा ७ बर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत रश्मी राईका छोरा हुन् दीपसागर ।

जो आमा छातीमा टाँसिएर हरेक दिन मुलुकको प्रशासनिक मुख्यालय पुग्छन् ।

त्यसपछि आमा दिनभर कार्यालयको काममा व्यस्त हुन्छिन् भने दीपसागर छतको एउटा कुनामा ओल्टो कोल्टो गरिरहन्छन् ।

पुषको कठ्याँग्रिदो चिसोमा पनि छोरालाई छतमा राख्नु रश्मीको रहर भने होइन ।

छोरा जन्मेपछिद उनी २ महिना विदा बसिन् ।, त्यसपछि पनि कार्यालय नजाँदा करारको जागिर जाने डरले उनी दुईमहिने नाबालक च्यापेर मन्त्रालय जान थालिन् ।

त्यसयता हरेक दिन विहान करिव ९ बजे उनी अनामनगरस्थित डेराबाट छोरा र उनलाई चाहिने एक झोला सरसामान बोकेर मन्त्रालय धाउँछिन् ।

चारमहिने छोराको स्याहारसुसार र कार्यालयको आफ्नो जिम्मेवारीबीच सन्तुलन मिलाउन धुसेनी ७, इलाम मूल घर भएकी रश्मीलाई कम्ता गाह्रो छैन । मन्त्रालयका सहृदयी कर्मचारी नभएका भए त छोरालाई एक्लै छाड्न सम्भव पनि थिएन ।

छतमा घाम ताप्न आउने कर्मचारी दीपसागरको हेरचाहमा सहयोग गरिरहेका हुन्छन् । पहिलो प्रहरको ड्युटी सकिँदा नसकिँदै कहिलेकाहीँ त दिउँसो १ बजिसकेको हुन्छ । करिब ३ घण्टा छोराको मुखमा कुनै आहार नपर्दा रश्मीको मन नकुँडिने होइन ।

तर, उनले गर्न सक्ने केही छैन । ‘के गर्नु धन्न साथीभाइले पालो दिनुहुन्छ । त्यति पनि नभएको भए त कसरी काम गर्न सक्थें होला र रु’ उनले भनिन्, ‘मन गाँठो पार्नुको विकल्प छैन ।’