गुल्मीमा फस्टाउँदो किबी खेती

गगनशिला खड्का

गुल्मी  ४ माघ । गुल्मी भार्सेकी निर्मला भारी (श्रेष्ठ)ले  पहिले विचार गर्न विदेशी फल भनेर लगाएको विरुवा पछि नियमित आम्दानीको श्रोत बन्नेछ भन्नेसोचेकी पनि थिइनन् ।

kibiतर उनी अहिले बारीमा त्यही फल दिने किवी खेतीको गोडमेलमा व्यस्त हुन्छिन् । भार्से गाविस वार्ड नं ६ निवासी श्रेष्ठले अहिले व्यवसायिक रुपमा किवी खेती गरेकी छिन् । उनले प्रत्यके बर्ष किवी खेतीबाटै एक लाख भन्दा बढी आम्दानी गर्न सफल भएको बताइन् । विगत ६ बर्षदेखी व्यवसायिक रुपमा किवी खेती शुरु गरेकी भारी (श्रेष्ठ)ले अहिले सम्म किवी खेतीबाटै ५ लाख आम्दानी गरेको बताईन् । २०६४ सालमा गुल्मीको भार्से गाविस वार्ड नं ७ निवासी बोम बहादुर थापा श्रीसको पहलमा काभ्रे जिल्लावाट ५ सय किवीका विरुवा ल्याई लगाएका भार्सेका कृषकहरु अहिले त्यही किवी खेतीमा व्यवसायिक बन्दै छन् । ललितपुर जिल्लाको कृषी कार्यालयका प्रमुख हुदाँ श्रीसले आफ्नो गाउँमा किवीको विरुवा भित्राएका थिए । किवीका विरुवा लगाउँदा त्यसको महत्व नै नबुझेका भार्सेली कृषकहरु विस्तारै त्यसको व्यवसायिक खेती तर्फ आर्कषित भएका हुन् । २०६९ सालदेखी किवी विक्री गरेर त्यहाँका कृषकले लाखौ रकम आम्दानी गरेका छन् । समुहगत रुपमा संगठित भएर किवीको व्यवसायिक खेती गरेका भार्सेका कृषकहरु थाप्ले लालीगुँरास आमा समुह मार्फत किवी  विक्री गर्दै आइरहेका छन् ।

भार्से गाविस वार्ड नं ५ निवासी कुल बहादुर विकले रोजगारीको शिलशिलामा भारतमा रहदाँ किवी खेतीको महत्वका बारेमा बुझेका थिए तर आफ्नो गाउँमा पनि किवी खेती राम्रो हुन्छ भन्ने कुरामा अनविज्ञ थिए । केही दिनको विदामा ६ बर्षअघि घर फर्केका विश्वकर्मा गाउँमा किवीको विरुवा देखीपछि अचम्ममा परे । “यहाँ पनि किवीको विरुवा,यस्तो ठाउँमा पनि हुन्छ र ? भयो भनेपनि विक्दैन ।” भन्ने लाग्यो उनले भने ।  गाउँमा स्थायी रुपमा बस्न थालेपछि विकले पनि किवीका विरुवा लगाएको बताए । उनले भने ः“म सधैँ घर बस्ने गरी फर्के,अनि किवीका विरुवा लगाए अहिले यसैले घरखर्च चलेको छ ।” यसबर्ष ६० किलो किवी विक्री गरेका उनी अझै किवीका विरुवा थप गरी व्यवसायिक बन्ने सोँचमा छन् । उनले भने ः“ अहिले लगाएको थोरै भएको छ,अझै विरुवा थप्ने सोँचमा छु ।”

गुल्मीको भार्से गाविसका श्रेष्ठ र विश्वकर्मा मात्रै होइन्न् ४ सय घरधुरी किवी खेतीको व्यवसायिकता तर्फ उन्मुख भएका छन् ।  भार्से २ पैयाँपाटाका शिवलाल थापाले आधा रोपनी जग्गामा लगाएको किवीखेती बाट यसबर्ष ३५ हजार आम्दानी गरेको बताए ।  विरुवा लगाएको ५ बर्षपछि मात्र त्यहाँका कृषकहरुले त्यसको प्रतिफल पाउन सफल भएका छन् । ३ बर्षको अवधिमा भार्से गाविसले ५० कुञ्टल किवी उत्पादन गरी विक्री गरेको लालीगुँरास आमा समुह भार्सेकी अध्यक्ष मधु गलामीले बताईन् । उनले अहिले  किवी प्रति किलो ३ सय ५० रुपैयामा विक्री गरीरहेको जानकारी गराईन् ।

गलामीले भनिन् ः“ यो तिन बर्षसम्म हामीले ५० कुञ्टल किवी विक्री ग¥र्योँ,एक किलाको ३ सय ५० रुपैँया परेको छ ।” गत बर्षसम्म प्रवासमा रहेकी गलामी घरफर्केपछि किवीको व्यवसायिक उत्पादन र प्रचार—प्रसारमा  लागेकी छिन् । उनले यो बर्षमात्र १० वटा किवीका विरुवा लगाएकी छिन् तर उनले भार्सेलाई किवी गाउँका रुपमा चिनाउने उदेश्य रहेको बताईन् । उनले भनिन् ः“ पोहोर सम्म त मलाई पनि थाहा थिएन तर अहिले यसैमा लागेकी छु,।” त्यसमा थप्दै भनिन् ः“यस बर्ष १० वटा विरुवा लगाएकी छु,भार्सेलाई किवीको गाउँ भनेर चिनाउन मन छ ।”

किवी खेतीको उत्पादन बृद्धी गर्न र त्यसको प्रचार प्रसारका लागि थाप्ले लाली गुँरास आमा समुले यही पौषमा बुटवलमा सञ्चालित बुटवल औधोगिक प्रर्दशनी मेलामा स्टल समेत राखेको थियो । कृषी स्टलहरु मध्ये पहिलो र ५ सय २६ स्टल मध्ये लालीगुँरास आमा समुह भार्सेको स्टल दोश्रो भएका गलामीले बताईन् । स्टल अवलोकनका लागि दैनिक ५०÷६० हजारको हाराहारीमा आउने दर्शकले किवी फल देख्दा अचम्म मानेको गलामीको भनाई छ । उनले भनिन् ः“ स्टलमा किवी हेर्न आउनेले कस्तो आलु फलेको रैछ,झुस संगको आलु भनेर अचम्म मान्थे ।”

गुल्मीको भार्से गाविस किवी खेती र मौरी पालनको लागि उपयुक्त स्थान भएका कारण जिल्ला कृषी विकास कार्यालय गुल्मीले पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यक्रम सञ्चालन गर्र्दै आएको कृषी कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत चेतनाथ अधिकारीले बताए । उनले यसै बर्ष जिल्ला कृषी विकास कार्यालय गुल्मीको पहलमा १४ सय विरुवा भार्सेका कृषकलाई वितरण गरेको समेत जानकारी दिए । उनले किवीको प्रयोग फलफुल,जुस र औषधिको रुपमा हुदैँ आएकाले महंगो  फलका रुपमा रहेको बताए । लामो समय सम्म सजिलै भण्डारण गर्न सकिने पोसिलो फल किवी खाँदा मुटु रोगीलाई समेत फाईदा पुग्ने बताईन्छ ।