आइसीसी डिभिजन २ को दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध २ विकेटले विजयी भएको छ। नामिबियामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेरदरल्यान्ड्सले १ बल अगावै अलआउट हुँदै १ सय ५८ रन बनायो। जवाफी ब्याटिङ गरेको नेपालले ३ बल अगावै ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो।
शरद भेस्वाकरले अन्तिम विजयी रन बनाए । भेस्वकार २४ मा र शक्ति गौचन २ रनमा अविजित रहे । नेपालका लागि बिनोद भण्डारी र सोमपाल कामी ब्याटिङमा जम्दा विजय सुनिश्चि भएको थियो । ३० बल खेलेका बिनोदले ३ छक्का र १ चौकासहित ३५ रन बनाए। त्यस्तै सोमापाल कामीले २८ बलमा ३ चौकासहित २८ रन बनाए। सोमपालले २ विकेटसमेत लिए।
कप्तान पारस खड्काले १९, सुवास खकुरेलले १५ र सागर पुनले १३ रन बनाए । नरेश बुढाऐर १ रन र उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भएका छन् । खकुरेलले एक चौका हानेका थिए । नरेश र ज्ञानेन्द्र खेलको सुरुवातमै तेस्रो ओभरमै आउट भए । सुरुमै दुई विकेटको क्षतिले नेपाल दवाबमा परेको थियाे । आज २ विकेट लिएर बसन्त रेग्मी विश्व क्रिकेट लिमा १ सय विकेट लिने पहिलो खेलाडी बनेका छन् । शनिबार भएको पहिलो खेलमा युगान्डासँग २ रनले अप्रत्याशित हार व्यहोरेको थियो । नेपालले तेस्रो खेल मंगलबार क्यानडासँग खेल्नेछ।







