बैतडी- सुदूरपश्चिम सेवा समाज युएईले दार्चुलामा बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
यही असार १६ गते राति दार्चुलामा पहिरोमा पुरिएर ज्यान गुमाएका तीन जनाको परिवारलाई युएईमा रहेका नेपालीले रु ९० हजार सहयोग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत जनही रु ३० हजारका दरले उक्त रकम हस्तान्तरण गरिएको छ ।
बाढी पहिरोका कारण मृत्यु भएका मालिकार्जुन–८ की वसन्ती धामी र सर्मोली–२ का चन्द्रदेव पन्त तथा पहिरोमा पुरिएर अझै बेपत्ता रहेका अपि नगरपालिका–१७ धापकी भागरथी महरका आफन्तलाई उक्त राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम सेवा समाज युएईका उपाध्यक्ष जयराज जोशीका भाइ वासुदेव जोशीमार्फत प्रजिअ जोशीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । युएईमा कार्यरत सुदूरपश्चिमवासीले तीन वर्ष अगाडी महाकाली नदीमा आएको बाढीले दार्चुलामा व्यापक क्षति पु¥याउँदा समेत आर्थिक सहयोग गरेका थिए ।
“प्राकृतिक प्रकोप, दैवी प्रकोपजस्ता विपत्तिमा परेका गरिब असहायलाई सहयोग गर्र्दै आएका छौँ,” सुदूरपश्चिम सेवा समाज युएईका उपाध्यक्ष जोशीले भन्नुभयो ।






