१६ करोडको ११ वटा झोलुंगे पुल अलपत्र

भरत पाण्डेय
काठमाडौं
सर्लाही र रौतहट जिल्ला जोड्ने नुन्थरखोलामा बन्न लागेको झोलुंगेपुल गत मंसिर २१ गते सम्पन्न भई सक्नुपर्ने थियो। तर, पुल उद्घाटन हुने बेलामा निर्माण कम्पनीले ‘विभिन्न कारणले गर्दा निर्माण सम्पन्न हुन सकेन’ भन्दै म्याद थपको लागि निवेदन दियो। पुलको ७० प्रतिशत काम मात्र सकिएको छ।
स्थानीय पूर्वाधार तथा कृषि सडक विभागको ‘सस्पेन्सन ब्रिज डिभिजन’ अन्तर्गत देशभर यस्ता ११ वटा पुल छन् जुन समयमै कार्यतालिका अनुसारको काम सम्पन्न गर्न सकेका छ्रनन्। डिभिजनले यसवर्ष निर्माण गर्न लागेका ७० वटा झोलुंगे पुलमध्ये करिब १६ करोड रुपियाँलगातका ११ वटा पुलको काम प्रभावकारी हुन नसकेको कार्यालयले जनाएको छ। नुवाकोटको तादीखोला सूर्यमति, अछामको बैजनाथ रिडीकोट, संखुवासभाको कुडुलेघाट, सोलुखुम्बुको केरुङखोला, सर्लाही र रौतहटको नुन्थर, कालिकोटको च्युरीकुना, रुकुमको गिठाकोट, रोल्पाको थवाङखोला, बझाङको भनना पिखेत र प्युठानको त्रिवेणीघाट झोलुंगेपुलमा प्रभावकारी काम हुन नसकेको डिभिजन कार्यालयले जनाएको छ। ‘मंसिरदेखि चैतसम्म सम्पन्न हुनुपर्ने ११ वटा पुलको काम सन्तोषजनक नभएको हो,’ डिभिजन कार्यालयका इन्जिनीयर ईश्वर मरहठ्ठाले भन्नुभयो– ‘करिब १६ करोड रुपियाँको लागतका यी पुलको काम समयमै गर्न हामीले ताकेता गरेका छौं।’
डिभिजनले हरेक पुललाई त्यसको अवस्था हेरर १५ देखि ४० महिनासम्मको समय दिन्छ। तर, त्यसबीचमा पनि निर्माण कम्पनीले विभिन्न कारण देखाएर समयमै काम सम्पन्न गर्न सक्दैनन्। अहिले निर्माणधीन पुलका निर्माण व्यवसायीले उनीहरू मिस्त्रीको अभाव र लोडसेडिङको कारण देखाएको डिभिजनले जनाएको छ। ‘कतिपयले म्याद थपको लागि निवेदन पेश गरेका छन्’ इन्जिनिरय मरहठ्ठाले भन्नुभयो – ‘तर उनीहरूले दिएको जवाफ सबै भरपर्दो छैन, हामीले अनुसन्धान गरेर उचित कारण देखिएन भने कारबाहीको प्रक्रियामा जान्छौं।’ धेरैजसो झोलुंगे पुल दुर्गम जिल्लामा बन्ने भएकाले मोटरबाटोको समस्या हुने र खोलामा वर्षातको कारण ६ महिना काम गर्न नसकिने भएकाले पनि कतिपय अवस्थामा समस्या हुने गरेको निर्माण व्यवसायीहरू बताउँछन्।
डिभिजन कार्यालयले समयमै काम सम्पन्न नगर्नेलाई पटकपटक पत्राचार गरेको भए पनि कार्य प्रगति नगरेकाले सार्वजनिक सूचना जारी गरी तुरुन्त कार्य सम्पन्न गर्न सूचना प्रकाशित गरी ताकेता गरेको छ। काममा ढिलासुस्ती भएकाले अविलम्ब साइटमा मेसिन, औजार, कामदार परिचालन गरी काम सम्पन्न गर्न निर्देशन दिएकाले सम्झौताअनुसार काम सम्पन्न नगरेमा सम्झौताको शर्त र सार्वजनिक खरिद ऐन, आर्थिक नियमावली अनुसार कारबाही गर्ने डिभिजन कार्यालयका प्रमुख कुमार थापाले बताउनुभयो। ‘अझै पनि हेलचेक्र्याई गरे भने सार्वजनिक खरिद ऐन⁄आर्थिक प्रशासन नियमावलीअनुसार कारबाहीको प्रक्रियामा जान्छौं’, थापाले भन्नुभयो – ‘त्यसो गर्दा पनि भएन भने ठेक्का तोडिन सक्छ।’ ऐनअनुसार समयमै काम सम्पन्न गर्न नसक्नेको काम सम्पन्न गर्नुपर्ने मितिदेखि कूल लागतको दैनिक १० प्रतिशतका दरले जरिवाना गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो।
‘एक दिन एक पुल’ अभियानअन्तर्गत गत वर्ष ३ सय ६५ पुल बनाएको डिभिजन कार्यालयले चालू आर्थिक वर्षमा ५५ जिल्लामा ७० झोलुंगे पुल बनाउँदै छ। त्यसको कूल लागत १ अर्ब २० करोड रुपियाँ छ। अन्य ३२ वटा नयाँ ठेक्काको प्रक्रियामा रहेको डिभिजन कार्यालयले जनाएको छ। नेपालमा अहिलेसम्म ५ हजार ७ सय झोलुंगे पुल छन्। ‘सस्पेन्सन ब्रिज डिभिजन’ ले १ सय २० मिटरभन्दा लामो दूरीका पुल आफैं बनाउने र त्योभन्दा छोटो पुलको जिम्मा जिल्ला विकास समिति⁄जिल्ला प्राविधिक कार्यालयलाई दिने गरेको छ।
यो वर्ष भने नेपालमा विशेष प्रकारका झोलुंगे पुल बन्दै छन्। नवलपरासीको त्रिवेणीमा ५ सय मिटर लामो, सुस्तामा १ हजार ६ सय मिटर लामो पुल बन्न लागेको छ भने नेपालमै पहिलोपटक गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्ला जोड्ने गरी रुरुक्षेत्र धाममा तीनमुखे पुल बन्न लागेको छ। १२ करोड रुपियाँ लागतमा बन्न लागेको तीनमुखे पुलको डिजाइन बनिसकेको र निर्माण कम्पनीले काम शुरू गरिसकेको डिभिजन कार्यालयले जनाएको छ।