बैतडी- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका बैतडीका छजनाको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजेता र उपविजेता उम्मेदवारबाहेकका अन्य सबै छजना उम्मेदवारको धरौटी जफत भएको हो ।
कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजिम राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
बैतडीमा प्रतिनिधिसभातर्फ पाँचजनाको उम्मेदवारी परेकामा तीनजनाको धरौटी जफत भएको छ । प्रदेशसभा (क) बाट उम्मेदवारी दिएका पाँचजनामध्येबाट पनि तीनजनाको धरौटी जफत भएको छ । प्रदेशसभा (ख) मा भने दुईजना मात्रै उम्मेदवार रहेकामा कसैको पनि धरौटी जफत भएको छैन ।
प्रदेशसभा तथा प्रतिनिधिसभामा उम्मेदवार बनेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र राप्रपाका कुनै पनि उम्मेदवार धरौटी जफत नभएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।
धरौटी जफत हुने उम्मेदवारले प्रतिनिधि र प्रदेशसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् । प्रतिनिधिसभातर्फ ७६ हजार १ सय ७३ मत खसेकामा ६९ हजार १ सय १९ मत सदर भएको थियो ।
यस्तै, प्रदेशसभामा (क) क्षेत्रमा ३८ हजार १८ मत खसेकामा ३४ हजार ८ सय ८२ मत सदर भएको हो भने प्रदेशसभा (ख) क्षेत्रमा ३८ हजार १ सय ५५ मत खसेकामा ३५ हजार ५ सय ६५ सदर भएको थियो ।
प्रतिनिधिसभामा धरौटी जफत हुने उम्मेदवारहरुमा एकीकृत राप्रपा (राष्ट्रवादी) का त्रिलोकबहादुर चन्द, विवेकशील–साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी रहेका छन् ।
यस्तै, धरौटी जफत हुने प्रदेशसभा (क) मा राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे रहेका मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजिम उनीहरुको धरौटी जफत भएको छ ।’
बैतडीमा एक लाख ३२ हजार ३ सय १९ मतदाता रहेकामा ७६ हजार ३ सय ४३ मतदाताले मतदान गरेका थिए ।






