रुपन्देही- रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली कांग्रेस प्रथम भएको छ ।
मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा कांग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट पछाडि रहेको कांग्रेस अन्तिम मतपरिणामअनुसार समानुपातिकमा भने पहिलो बनेको छ । जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा जित निकालेको थियो । तीन सिट जितेको नेकपा एमाले दोस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले तेस्रो स्थान सुरक्षित गरेको हो ।
नेपाली कांग्रेसले एक लाख १५ हजार ३ सय २९ मत प्राप्त गर्दै पहिलो बनेको छ । दोस्रो बनेको एमालेले एक लाख १३ हजार ५ सय ८५ मत प्राप्त गरेको छ । त्यस्तै, तेस्रो संघीय समाजवादी फोरमले ३७ हजार २ सय ९७, राजपाले २० हजार ५ सय ८३, माओवादी केन्द्रले १८ हजार २ सय ९४ मत प्राप्त गरेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत नरेश्वर भण्डारीले जानकारी दिए ।
त्यस्तै, प्रदेशसभातर्फ पहिलो बनेको एमालेले एक लाख पाँच हजार ७ सय ३१ मत प्राप्त गरेको छ । दोस्रो हुँदै कांग्रेसले एक लाख तीन हजार ६९ मत प्राप्त गरेको छ भने तेस्रो संघीय समाजवादी फोरमले ३४ हजार ७० मत प्राप्त गरेको छ ।
माओवादी केन्द्रले २० हजार ५ सय ६, राष्ट्रिय जनता पार्टी नेपालले १७ हजार ७ सय ५९, राष्ट्रिय जनमुक्ति पार्टीले १२ हजार ६ सय ६२, राप्रपा प्रजातान्त्रिकले सात हजार ९ सय ४२ मत पाएको छ ।
रुपन्देहीमा प्रतिनिधिसभामा ४९ र प्रदेशसभामा २७ राजनीतिक दलहरुले उम्मेदवारी दिएका थिए । रुपन्देहीमा प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभाका लागि १० निर्वाचन क्षेत्र रहेका थिए । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं १, २ र ३ मा एमाले, क्षेत्र नं ४ र ५ का कांग्रेसले जितेको थियो ।






