लन्डन । बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोगमा आगामी ४ जुन आइतबार प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा विशेष च्यारिटी डिनर गर्न लागिएको हो । ४ जुनको च्यारिटी कार्यक्रम तयारी तीव्र भइरहेको बताउदै बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले उक्त बृद्धाश्रम निर्माणका लागि च्यारिटी डिनर हुनु अगावै हालसम्म २५ हजार पाउण्ड सहयोग प्रतिवद्धता आइसकेको जनाए ।
नेपालबाट समेत यस पूण्य कार्यमा सहयोग प्रतिवद्धता आइरहेको र बेलायतबाट समेत प्रतिवद्धता आउने क्रम जारी रहेको श्रेष्ठले बताए । भवनको कोठा स्पोन्सर गरिदिनेको नाममा नै कोठा नामाकरण गरिने तथा ५० हजार रुपैयां भन्दा माथि सहयोग गर्नेहरुको शिलालेखमा नाम लेखिने श्रेष्ठले बताए ।
उक्त बृद्धाश्रम निर्माणको अनुमानित लागत ७० लाख रुपैयां छ । तर, २० रोपनी जग्गा भने कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले निशुल्क उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।
यसै बीच प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा सांझ ५ देखि राति अबेरसम्म भब्य र सभ्य रहने र उक्त च्यारिटी डिनरमा ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई जम्मा दश पाउण्ड टिकट मुल्य पर्ने र उक्त टिकट गेटमा नै उपलव्ध हुने बताए । अन्य व्यक्तिलाई भने प्रवेश शुल्क २५ पाउण्ड छ । एकसय पाउण्ड स्पोन्सर गर्नेलाई एउटा टिकट फ्रि, २०० देखि ५०० पाउण्डसम्म स्पोन्सर गर्नेलाई दुईवटा टिकट फ्रि र ५ सय पाउण्ड देखि माथि स्पोन्सर गर्नेलाई तीनवटा टिकट फ्रि हुने आयोजकले जानकारी दिए ।
लण्डन स्थित चर्चित नाम्लो ब्यान्ड र स्थनीय कलाकार सहित सर्मिला बर्देवाको विशेष प्रस्तुति रहने र संगीत माहोलमा सहभागीहरुलाई क्यानडल लाइट सहित डिनर बसेकै टेबलमै सर्भ समेत गरिनेछ । कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रहने एबम गायक योगेश्वर अमात्यको पनि उपस्थिति रहने तथा सिम्मी पुन र सुनिल प्रजापतिले बुद्धसम्बन्धी विशेष प्रस्तुति राख्ने, श्रेष्ठले लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा जानकारी दिए ।
कार्यक्रममा फाउण्डेशन अध्यक्ष दीपक श्रेष्ठले बेलायतवासी समस्त नेपालीमा स्वतस्फूर्त आर्थिक सहयोग गरिदिन अपिल समेत गरेका छन् ।






