
बेल्जियम- आउँदो जनवरीमा फ्रान्सको पेरिसमा हुने ‘टप मोडल बेल्जियम सिनियर–२०१६’ को फाइनलमा नेपाली युवती योगिताकुमारी थापा पर्न सफल भएकी छन्।
सात वर्षदेखि बेल्जियम बस्दै आएकी काठमाडौंकी थापा २९ देखि ४० वर्ष उमेर समूह अन्तर्गत टप मोडल सिनियरको फाइनलमा पुगेकी हुन्।
बेल्जियमको सार्लुवामा ४० प्रतिस्पर्धीबीच अन्तिम स्पर्धाको लागि छनोट १० प्रतिस्पर्धीमा उनी परेकी हुन्। जनवरी अन्तिम साता भव्य समारोहका बीच पेरिसमा यिनै १० प्रतिस्पर्धीबाट सिनियर मोडलतर्फको विजेता घोषणा गरिने आयोजकले बताएको छ।
प्रतियोगितामा विभिन्न विधामा गरी करिब १ सय ८० प्रतिस्पर्धीले छुट्टाछुट्टै रूपमा भाग लिनेछन्। भोट र जुरीका आधारमा विजयी घोषणा गरिने भएकाले थापाले नेपाली शुभेच्छुकहरूलाई भोट दिन आग्रह गरेकी छन्। प्रतियोगिता नेपाली पहिचानलाई प्रवद्र्धन गर्ने हिसाबले गौरवमय भएको दाबी गर्दै उनले भनिन्, ‘अनुभव र कडा मिहिनेतका साथ यहाँ आइपुगेकी छु, रित्तो हात फर्कने छैन।’
आयोजकका अनुसार, बेल्जियम, फ्रान्स र लक्जेम्बर्गबाट मोबाइल एसएमएसमार्फत भोट दिन सकिनेछ।






