प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई भनेः राजीनामा दिएर बाटो खोल

काठमाडौं- नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकामा मातादातालाई धन्यवाद दिने कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद ज्ञवालीले निर्वाचनको नतिजा स्वीकार गर्दै प्रजातांत्रिक संस्कार देखाउन देउवालाई अपील गरेका हुन् ।

एमालेका प्रभावशाली नेता ज्ञवालीले कामचलाऊ सरकारलाई दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न चेतावनी दिँदै निर्वाचनको आचारसंहितापछि गरेका निर्णय वामपन्थीको नयाँ सरकारले खारेज गर्ने बताएका छन् ।

अब बन्ने वामपन्थीको सरकारले देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान भष्ट्राचार निर्मूल पार्ने,आर्थिक समृद्धि र विकास गर्ने, देश भित्रै रोजगार सृजना गर्ने, महिला,जनजाति र पछाडि पारिएका बर्गको उत्थान गर्ने र छिमेकीसँग सह–अस्तित्वको ब्याबहार गर्ने पनि ज्ञवालीले बताए ।