लन्डन । बेलायतमा पहिलोपटक संगीतको साथमा आठ कविले एकै मञ्चबाट कविता सुनाउने भएका छन् । एल्डरसटमा यही सेप्टेम्बर २८ तारिख शनिबार (Sushi moto restaurant) हुन लागेको काव्य-सन्ध्या नामक कार्यक्रममा आठ कविले कविता प्रस्तुत गर्नेछन् ।
कविहरू खुपेन सुनुवार, काङमाङ नरेश राई, जीवन तिवारी, डा. सङ्गीता स्वेच्छा, डा. रूपक श्रेष्ठ, निर्भीकजंग रायमाझी ,शान्ति लिम्बू तथा मुकेश राईले कविता सुनाउने छन् ।
‘साहित्य संगालो, बेलायत’को संयोजनमा हुन लागेको कार्यक्रमको संयोजन साहित्यकार केदार संकेतले गरेका छन् । संकेतका अनुसार अनौपचारिक शैलीमा हुने कविता वाचनले युकेमा नयाँ ढङ्गको साहित्यिक कार्यक्रमको सुरुवात गर्न लागेको छ । ‘यसले विगतको जस्तो पट्यारलाग्दो र लामो समय लिने साहित्यिक कार्यक्रम गर्ने परम्परा तोड्ने विश्वास लिएका छौँ’, संकेत भने ‘नेपाली भाषा-साहित्यलाई माया गर्ने सबै युकेबासीलाई म कार्यक्रममा आउन हार्दिक अनुरोध गर्दछु ।’
कविता वाचनको साथमा रोशन महर्जनको सारङ्गी र टुङ्ग्ना बज्नेछ ।






