काठमाडौँ- नेपाली कांग्रेसले केन्द्र र जिल्ला सभापतिमा निरन्तररुपमा दुई पदावधिभन्दा बढी हुनेगरी उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । तर पार्टी समायोजन हुँदा सहसभापति हुनेका हकमा भने यो व्यवस्था लागू हुने छैन ।
पार्टीको एघारौँ महाधिवेशनमा जिल्ला कार्यसमितिको एक कार्यकाल अवधि पूरा गरी बाह्रौँ महाधिवेशनमा पनि सभापति निर्वाचित भई अवधि पूरा गर्नेहरुका लागि पार्टीको विधानको धारा ४९ को उपधारा १७ को व्यवस्था लागू हुने पार्टी कार्यालयले जनाएको छ ।
विधानको धारा ४९ को उपधारा १७ मा पार्टीको केन्द्रीय कार्यसमितिको सभापति र जिल्ला कार्यसमितिको सभापतिमा निरन्तररुपमा दुई पदावधिभन्दा बढी हुने गरी उम्मेदवार हुन नपाउने प्रावधान छ ।
त्यस्तै पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज भएको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १३ औँ महाधिवेशन सम्पन्न गरी पार्टीको विधान कार्यान्वयन गर्न विधानको धारा ५० (बाधा अड्काउ फुकाउने अधिकार) बमोजिम विधानको धारा ४ को उपधारा १३ को व्यवस्था समेत निलम्बन गरेको छ ।






