लण्डन– बेलायतको फोकस्टोनस्थित गोर्खा मेमोरियल फण्डले झापा जिल्लाको काकरभिट्टा उच्चमाध्यमिक विद्याललाई ३१ वटा कम्प्युटहरु उपलब्ध गराउनुकासाथै एउटा कम्प्युटर कक्ष पनि बनाइदिएको छ। फण्डले विद्यालयकालागि हालै एउटा उर्जा केन्द्र र सिसिटिभी सुरक्षा प्रणाली पनि जडान गरीदिन लागेको फण्डका अध्यक्ष तथा भूतपूर्व काउन्सिलर धन गुरुङले बताए।
सो परियोजनाकालागि २०,००० पौण्ड (झण्डै २७ लाख रुपिया) सहयोग संकलन गरिएको थियो।
सो विद्यालय र फोक्सटोनस्थित मार्टेलो स्कूलका विद्यार्थीहरुबीच भिडियो कन्फरेन्समार्फत छलफल पनि भएको थियो। सो अन्तरकृयाका बेला दुबै स्कूलका विद्यार्थीहरुले उनीहरुको विद्यालय, पढाइ हुने विषय र रुचीबारे रमाइला प्रश्नहरु गरेका थिए। मार्टेलो स्कूलकी प्रधानाध्यापक एलिसन म्याकलेचीले सो अन्तरकृयालाई आफ्ना विद्यार्थीहरुले निकै रुचाएको र यो उनीहरुकालागि नेपाल र नेपाली शिक्षा प्रणालीबारे जान्ने राम्रो अवसर भएको बताइन्।
सो समारोहमा बोल्दै फण्डका अध्यक्ष धन गुरुङले सूचना र प्रविधिको यो युगमा हाम्रा विद्यार्थीहरु पनि विश्व सूचना सन्जालसंग जोडिउन् र उनीहरुको ज्ञानको भण्डार विस्तृत बनोस् भन्ने उद्देश्यले यो अभियान शुरु गरिएको बताए। उनले सो परियोजनालाई सघाउने बेलायतस्थित सबै सहयोगीहरुलाई हार्दिक धन्यवाद पनि दिए।
विद्यालयका प्राचार्य तुलसीप्रसाद निरौलाले बेलायतबाट नेपालमा शैक्षिक उन्नयनकालागि सघाउने गोर्खा मेमोरियल फण्ड, फोकस्टोन नगरका वासिन्दाहरु र सबै सहयोगीहरुप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
फण्डले छिट्टै रोल्पा जिल्लाको एक विद्यालयलाई पनि कम्प्युटरहरु प्रदान गर्ने योजना रहेको र त्यसकालागि सघाउन चाहने महानुभावहरुले https://www.gurkhamemorialfund.org.uk/make-a-donation/ गएर सहयोग गर्न सकिने जनाएको छ।







