अमेरिकी राष्ट्रपति ट्रम्प एघार दिने एसिया भ्रमणमा

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ११ दिन लामो एसिया भ्रमण सुरु भएको छ ।

एसिया भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स पुग्ने कार्यक्रम छ । पछिल्लो २५ वर्षमा अमेरिकी राष्ट्रपतिले गर्न लागेको यो लामो भ्रमण हो ।

उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला सुरु भएको ट्रम्पको भ्रमणलाई निकै महत्वका साथ लिइएको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिका, दक्षिण कोरिया तथा जापान एक पक्षमा छन् ।

राष्ट्रपति ट्रम्पले भ्रमणको क्रममा उत्तर कोरियाको विषयमा अमेरिका, दक्षिण कोरिया र जापान एकताबद्ध रहेको सन्देश दिने अपेक्षा गरिएको छ । ट्रम्पको यो भ्रमणले उत्तर कोरियालाई सहयोग गर्दै आएको चीनलाई थप दवाव दिने आंकलन गरिएको छ ।

ट्रम्पले यसअघि पनि चीनसँग उत्तर कोरियालाई परमाणु कार्यक्रम रोक्न दबाब दिन आग्रह गर्दै आएका थिए । भ्रमणको सुरुमा ट्रम्प अमेरिकी राज्य हवाइ पुग्नुभएको छ । उनी त्यहाँ अमेरिकी प्यासिफिक कमाण्डको ब्रिफिङमा सहभागी हुनुभएको छ । त्यहाँबाट उहाँ प्रथम महिला मिलानिया ट्रम्पसँगै जापान प्रस्थान गर्ने कार्यक्रम छ । उनी आइतबार जापान पुग्नुहुनेछ ।

ट्रम्प जापान भ्रमणसकेर मंगलबार दक्षिण कोरिया जाने सिएनएनले जनाएको छ । दक्षिण कोरियाबाट चीन जाने कार्यक्रम छ । चीन बसाइको क्रममा ट्रम्पले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि भियतनाम जाने ट्रम्पले त्यहाँ एसिया प्यासिफिक इकोनोमिक को–अपरेसनको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । एसिया भ्रमणको अन्तिम गन्तव्य हुनेछ फिलिपिन्स । उहाँले फिलिपिन्सको राजधानी मनिलामा हुने दक्षिण पूर्वी एरियाली देशको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि अमेरिकी राष्ट्रपतिको यस्तै किसिमको एसिया दौडाहा सन् १९९१ को अन्त्य र १९९२ को सुरुमा भएको थियो ।