बेलायतका गुल्मेलीले गरे छत्रकोटका अपाङ्गता भएका सिंहको परिवारलाई आर्थिक सहयोग

लण्डन । बेलायत स्थित गुल्मी जिल्ला समाज यूकेले नेपालको गुल्मी जिल्ला छत्रकोट गाँउपालिका वडा नं ९ हर्दिनेटा निवासी अपाङ्गता भएका भूपाल सिंहको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

जन्मजातै अपाङ्गता रहेका सिंहको परिवारलाई जीवनयापन गर्न सहज होस् भनेर १० औँ अन्तरराष्ट्रिय अपागं दिवसको अवसरमा संकलन गरेको नगद ५० हजार रुपैया हस्तान्तरण गरिएको हो ।

लामो सयमदेखि अपाङ्गता भएका व्यक्तिहरुको कल्याणमा काम गर्दै आएको यस संस्थाले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि उक्त सहयोग गरेको हो ।

सकंलित रकम सिंहको घरमा पुगेर गुल्मी जिल्ला समाज यूकेका आजीवन सदस्य बिष्णु माया थापाले हस्तान्तरण गरेका हुन् ।

संस्थाका अध्यक्ष टोप पल्लीले सिंहको जीवनयापनको निम्ती सहयोग गर्ने ध्येयका साथ यसरी आर्थिक सहयोग गरिएको बताउँदै संस्थाले चालेको अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए ।

लण्डन नेपाल न्यूजसंग बोल्दै अध्यक्ष पल्लीले सिंहको परवारको निम्ती संकलित रकम उनकै घरमा पुगी सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

अपाङ्गता भएका सिंह परिवारको जीवनस्तर सहज बनाउने गरी अध्यक्ष टोप पल्लीले १० हजार, बिष्णु माया थापाले ६ हजार ५ सय नगद सहयोग गरेका गुल्मी जिल्ला समाज यूकेका महासचिव बीर बलालले बताए ।

सहयोग रकम ग्रहण गर्दै सिंहले सहयोगी संस्था प्रति धन्यवाद व्यक्त गरे।

उक्त कार्यक्रममा छत्रकोट गाउँपालिकाका वडा सदस्य गोमन सिङ पुन लगायतको उपस्थिती रहेको थियो ।

विपत र गुल्मीबासीको पीडामा अभिभावकको भूमिका निर्वाह गर्दै आएको यस संस्थाले यस अगाडी पनि थुप्रै व्यक्तिलाई सहयोग गरिसकेको छ ।

जिल्लामा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्धेश्य सहित अहिलेसम्म ४ वटा एम्बुलेन्स निशुल्क रुपमा प्रदान गरेको यस संस्थाले कोभिड महामारी नियन्त्रणका लागि गुल्मीका १२ वटै स्थानीय तहमा व्यक्तिगत सुरक्षा कवज पीपीई लगायतका अन्य स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो ।

आशा अपाङ्ग केन्द्र तम्घासलाई विभिन्न चरणमा गरी हालसम्म झण्डै ५० लाख रकम सहयोग गरेको यस संस्थाले जिल्लामा हुने विभिन्न दैविप्रकोपका घटनाका पीडित र आर्थिक अभावमा रहेका परिवारलाई पनि सहयोग उपलब्ध गराउँदै आएको छ ।