शिब भण्डारी
लण्डन । बेलायतमा नेपालीहरुले सञ्चालन गर्ने होटल रेष्टुरेन्ट व्यवसायहरुको संख्या बढ्दै जान थालेको छ । पछिल्लो समय गुल्मीको अर्जै घर भएका महलाल घिमिरे (मोहन)सहित ५ जनाको टीमले मोटो रकम लगानीमा होटल’ खरिद गरेर रेष्टुरेन्ट सञ्चालन गर्न लागेका छन् ।
लण्डनको केन्ट स्थित जिलिङहाममा बेजिंग इन यूके लिमिटेडलाई उनीहरुले खरिद गरेका हुन् । उक्त व्यवसाय सञ्चालन गर्न घिमिरेलाई,लेखनाथ घिमिरे,ललितकुमार न्यौपाने, केपी शर्मा, किशोरजीत पौड्याल र खगेन्द्र शेरचनले साथ दिएका छन् । हाल बन्द रहेको उक्त होटललाई नेपालीहरुले ५ लाख पाउण्ड अर्थात नेपाली रुपैया ८ करोड भन्दा बढी तिरेर खरिद गरी सञ्चालन शुरु गर्न लागेका हुन् ।

उक्त होटल मिडवे काउन्सिलमा ५ वटा हाइस्टेटहरु (जिलिङहाम, क्याथम, रोचेस्टर, स्ट्रूट, र रोहिंहम) क्षेत्रमा अवस्थित छ । २० मिनेटको दूरीमा ४ वटा विशवविद्यालय रहेको यी क्षेत्रमा ६ वटा ग्रामर स्कू्रल तथा केन्टको ठूलो अस्पताल पनि रहेको छ । गोर्खा आर्मीको ब्यारेक, २ वटा नेपाली शप रहेको यसक्षेत्रमा पचास साठी घरसहितको नेपाली बस्ती पनि छ ।
‘बेलायतमा लगाइएको लकडाउन अन्त्य भएसँगैबाट अपरेट गर्नेगरी तयारी अघि बढाइरहेका छौँ,’ लण्डन नेपाल न्यूजसंग घिमिरेले भने, ‘आगामी दिनमा यसलाई १०० सिटको रेष्टुरेन्ट तथा माथिल्लो तलामा ६ बेडरुम फ्ल्याट तयार गर्ने तयारी छ ।’ उनले आगामी योजनाको रुपमा विभिन्न संघसंस्थाहरुको लागि एक सय भन्दा बढी मानिसहरु एकै साथ कार्यक्रम गर्न सक्ने सभाहल निर्माण गर्ने विषयमा पनि तयारी भइरहेको जानकारी दिए । उनले लामो साहस र उत्साह बोकेर बेलायतमा आफ्नै व्यवसाय शुरु गर्न लागेको बताए । 
लामो समयदेखि बेलायतमा बस्दै आएका नेपालीहरु मिलेर नयाँ व्यवासायिक कीर्तिमानी कायम गर्ने उद्धेश्य राखेको घिमिरेले बताए । ‘व्यवसायलाई नयाँ र परिस्कृत तरिकाले लैजाने सोँच बनाएका छौँ,’ उनले भने, ‘हाम्रो यस अभियानमा दर्जनौँ नेपाली साथीहरुले सहयोग गरिरहनुभएको छ, उहाँहरुको गुन हामी कहिल्यै बिर्सन सक्नेछैनौँ । ‘ यहाँ रहेका नेपाली समुदायले यस किसीमको सहकार्य नेपाली समुदायमै उत्कृष्ट भनेको भन्दै उनले आफूहरुको सहकार्यले आगामी दिनमा नेपाली समुदायका व्यवसायीहरुलाई मार्ग निर्देशन पनि मिल्ने विश्वास व्यक्त गरे।
कोरोना भाइरस: कोभिड-१९ ले समुदायलाई परेको असर र सरकारले तोकेका मापदण्ड अन्त्य भए लगतै होटल आगामी महिनादेखि मर्मत कार्य सुरू गरिने र ‘फेब्रुअरी महिनाको अन्तिमसम्म होटलको रि लन्च गर्छाैं’ उनले भने ।






