चुनाव सार्ने सरकारी कसरतमा कांग्रेस नेताकै असन्तुष्टि

काठमाडौँ- सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति हेरफेर गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले निर्वाचन मिति परिवर्तन गर्ने अधिकार सरकारलाई नभएको पनि बताएका हुन् ।

नेता सिंहले मुलुक निर्वाचनमा होमिसकेकाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति हेरफेर गर्न नमिल्ने पनि स्पष्ट पारे ।

सरकारले आगामी मंसीर १० गतेका लागि तोकिएको पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन केही समय पर सार्ने तयारी गरिरहेका बेला सत्तारुढ काँग्रेसकै नेता सिंह त्यसको विपक्षमा उभिएका हुन् ।

सोमबार साँझ प्रधानमन्त्री देउवाले अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई राष्ट्रपति विद्यादेवि भण्डारीकहाँ पठाएर एकै चरणमा चुनाव गर्ने प्रस्ताव सुनाएका थिए । देउवाले मंसिर २१ गते दुवै चुनाव गर्ने प्रस्ताव कार्कीले राष्ट्रपतिसमक्ष राखेका थिए ।

तर, राष्ट्रपति भण्डारीले यसका लागि सबै दलको सहमति आवश्यक रहेको सुझाव दिएकी थिइन् ।

मंगलबार गैर आवासीय नेपालीहरुका लागि आयोजित चियापान कार्यक्रममा बोल्दै उनले दलहरु सबै निर्वाचनको तयारीमा जुटिसकेका बेला सरकारले तोकिएको मिति हेरफेर गर्न नमिल्ने तर्क पनि गरे । सरकारले यस अघि नै आगामी मंसीर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति तोकिसकेको छ ।

काँग्रेस नेता सिंहले लोकतान्त्रिक गठबन्धनबीच निर्वाचन क्षेत्र बाँडफाँडका विषयमा भईरहेको छलफल छिट्टै टुंगोमा पुग्ने दावी समेत गरे ।