काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दीपकराज जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सचेत गराएको छ ।
सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधिश जोशीमाथि महाभियोग लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले गोप्य रुपमा हस्ताक्षर अभियान संचालन गरिरहेको चर्चा भईरहेका बेला नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले त्यसो गर्नु गल्ती हुने भन्दै सचेत गराएका हुन् ।
आइतबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले महाभियोगलाई सामान्य अवस्थामा प्रयोग गर्ने अश्त्रको रुपमा लिन नहुने पनि स्पष्ट पारे ।
काँग्रेसले तत्कालीन प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको स्मरण गराउँदै वरिष्ठ अधिवक्ता समेत रहेका सांसद अधिकारीले काँग्रेसको जस्तै गल्ती हुनेगरी जोशी विरुद्ध महाभियोग लगाए जनताले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पनि दण्डित गर्ने बताए ।
जोशीलाई राजीनामा नदिए महाभियोग लगाउँछौं भन्ने खालको धम्की दिइएको भन्दै आफूहरुलाई सैह्य नहुने चेतावनी पनि दिए ।
वस्तुगत आधार विनानै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महाभियोग लगाउन खोज्नु नै गलत भएको सांसद अधिकारीको दावी छ ।
काँग्रेस सांसद अधिकारीले न्यायालयलाई अमुक पार्टीको शाखा कार्यालय बनाउन नदिने दृढता पनि व्यक्त गरे ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद वृशेषचन्द्र लालले मणिपाल अस्पतालले २० वर्ष अघि गरेको सहमति अनुसार सप्तरीमा इन्निनियरिङ कजेल र जनकपुरमा मणिपाल मेडिकल कलेज खुल्न नसकेको भन्दै त्यस सम्बन्धमा संसदलाई जानकारी गराउन सरकारसँग माग गरे ।
मणिपाल अस्पतालले दुवै ठाउँमा इन्जिनियरिङ कलेज र मेडिकल कलेज स्थापनाका लागि ६ अरव २२ करोड बराबरको जग्गा लिएपनि सो सहमति कार्यान्वयन हुन नसकेकोमा सांसद लालको आपत्ति छ ।






